
काठमाडौं, भदौ ३१ । अग्रज पत्रकार महिलाले कोरोना (कोभिड–१९) का कारण पत्रकार महिला कतिपयले जागिर गुमाएको त कतिले कम तलव सुविधामा काम गर्न बाध्य भइरहेको बताएका छन् ।
सञ्चारिका समूहले बुधबार आयोजना गरेको ‘कोभिड–१९ को महामारीमा पत्रकार महिलाको भूमिका र चुनौती’ विषयक भर्चुअल सम्मेलनमा उनीहरुले विपद्को अवस्थामा सबै पत्रकारलाई पेशागत असुरक्षा भएपनि यसबाट पत्रकार महिला थप प्रताडित भएको बताएका छन् ।
पत्रकार आरती चटौतले कतिपय मिडियाले घरबाटै काम गर्न मिल्ने भनेपनि महिलालाई त्यसको व्यवस्थापन थप चुनौतीपूर्ण भइरहेको बताउनुभयो ।
महिलाले घरको काम, बालबालिकाको व्यवस्थापन गरेर कार्यालयको काम गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भूकम्पको समयमा र अहिले कोभिडको जोखिम भएपनि महिलाहरु सक्रिय रुपमा फिल्डमा खटिएका छन् ।”
पत्रकार कृष्णा पौडेलले कोभिड–१९ का कारण मिडियामा लगानी गर्ने महिला आर्थिक रुपमा समस्यामा परेको बताउनुभयो ।
राज्यले महिलाको लगानी भएका मिडियालाई प्रोत्साहन गर्नै नीति अवलम्वन गर्नुपर्ने उहाँको भनाइ छ ।
सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले काठमाडौँदेखि जिल्ला जिल्लामा रहेका महिला पत्रकारले कोभिड–१९ को समयमा जोखिम भएपनि फिल्डमा खटिएको बताउनुभो ।
समूहले कोभिडकै कारण रोजगारी गुमाएका महिलालाई आर्थिक रुपमा सहयोग पु¥याउन कोष स्थापनाको योजना बनाएको उहाँले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्