
काठमाडौं, भदौं ३१ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले असोज १ गते (भोलि) देखि होटल तथा रेष्टुरेन्ट सञ्चालनमा लगाएको रोक हटाएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले टेकअवेमात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्चालन खुला गरिएको जानकारी दिनुभयो ।
तर काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोर/बिजोर भने अर्काे आदेश नहुञ्जेल कायमै राखिएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने र उपत्यकामा सवारी साधन प्रवेशलाई पनि खुला गरिएको छ ।
मन्त्रिपरिषद्ले असोज १ गतेदेखि लामो दूरीका यातायात खुलाउने निर्णय गरिसकेकाले स्वास्थ्य प्रोटोकल कायम राखेर उपत्यकामा आउन जान दिने निर्णय गरिएको दाहालकको भनाइ छ ।
काठमाडौं जिल्ला प्रशासनले सूचना प्रकाशित गरेर सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा भने खोल्न नपाइने जनाएको छ ।
यस्तै, शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध र्याली र सभामा लगाइएको रोक कायमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्