
काठमाडौं, असोज १ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको छ ।
मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनित गर्नुभएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरे पनि आज मनोनयन गरिएको हो ।
राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको दुई वर्षे कार्यकाल सकिएपछि एक सिट खाली भएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सह–सचिव हरिप्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्नुभएको हो । राष्ट्रियसभा सचिवालयका अनुसार गौतमको शपथ बिहीबार नै हुनेछ ।
उता गौतमको निजी सचिवालयले पनि उहाँलाई राष्ट्रिय सभा सचिवालयबाट तयार रहन सूचना आएको जनाएको छ ।
फागुनदेखि खाली रहेको राष्ट्रिय सभा सदस्य पदमा प्रधानमन्त्री केपी ओलीले डा. खतिवडालाई नै पठाउने इच्छा व्यक्त गरे पनि पार्टीका अरु नेता गौतमलाई पठाउनुपर्ने पक्षमा उभिएपछि गौतमको नाम सिफारिश गरिएको हो ।
गौतम २०७४ सालमा बर्दिया क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता सञ्जय गौतमसँग पराजीत हुनुभएको थियो ।
जनताले पराजीत गरेको मानिसलाई अर्को बाटोबाट राष्ट्रिय सभामा लैजानु हुन्न भनेर उहाँको पाटीभित्रै र बाहिर पनि विरोध भएको थियो ।
प्रतिक्रिया दिनुहोस्