
काठमाडौं, असोज ३ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्ना समर्थकहरुलाई आफनो पक्षमा सडकमा उत्रिएर प्रदर्शन नगर्न अपील गर्नुभएको छ ।
पछिल्ला केही दिनयता उहाँको पक्षमा संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा प्रदर्शन भएको र ती प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा केही घाइतेसमेत भएको सन्दर्भमा घिसिङले संयम अपनाउन अपील गर्नुभएको हो ।
घिसिङले शनिबार विज्ञप्ति निकालेरै प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने जनाउनुभएको छ ।
विज्ञप्तिमा घिसिङले भन्नुभएको छ, ‘नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु । प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसात गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।’
विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ ले नेपाल पनि आक्रान्त भएका बेला सडकमा भिडभाड नगर्न र प्रदर्शन नगरिदिन घिसिङले सबै समर्थकसँग अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्