
काठमाडौं, असोज ४ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेता वामदेव गौतम र आफू मन्त्री हुनेबारे कहिँकतै छलफल नभएको प्रष्टीकरण दिनुभएको छ ।
कोटेश्वर पेरिसडाँडास्थित पूर्वमाओवादीको मुख्यालयमा पहिलो पटक बसेको नेकपा सचिवालयको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै श्रेष्ठले नेता गौतम र आफू मन्त्री हुनेबारे पार्टी बैठक त के मनमा समेत छलफल नभएको बताउनुभएको हो ।
सोमबार फेरि बस्ने गरी सकिएको आइतबारको बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने सैद्धान्तिक सहमति गरेको थियो । मन्त्री बन्नेहरुका बारेमा भने छलफल नभएको दाबी गरिएको छ ।
हाल अर्थ, सञ्चार र शहरी विकास मन्त्रालय रिक्त छन् भने प्रधानमन्त्री अरु केही मन्त्री पनि बिदा गरेर नयाँ व्यक्तिलाई मन्त्री बनाउने गृहकार्यका जुट्नु भएको नेकपा नेताहरुले बताउादै आएका छन् ।
त्यसका लागि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच केही चरण छलफल भएपनि सूचना बाहिर दिइएको छैन ।
सचिवलायमा रहेका प्रायः सबै नेतालाई अब हुने मन्त्रिमण्डल पुनर्गठनमा समेट्ने प्रयास हुने नेकपामा चर्चा चलेको छ ।
केही नेताले भने बारम्बार अवसर पाइरहेका भन्दा पनि पटक पटक सांसद भएका तर अवसर नपाएकालाई जिम्मेवारी दिनुपर्ने माग पनि गर्दै आएका छन् ।
नेता वामदेव गौतमले त आफूलाई उपप्रधान तथा अर्थ मन्त्री बनाउनुपर्ने शर्त प्रधानमन्त्री ओली र अध्यक्ष दाहालसमक्ष राखेको बताइएको छ ।
नेताहरु सुरेन्द्र पाण्डे, भीम रावललगायत नेता पनि यस पटकको पुनर्गठनमा समेटिन सक्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्