
काठमाडौं, असोज ४ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदको विशेष अधिवेशन तत्काल बसाल्न नेपाली कांग्रेसले तत्काल कदम चाल्नुपर्ने बताउनुभएको छ ।
मुलुक सम्पूर्ण रुपमा संकटमा रहेका बेला संसद बन्द गराएकामा आपत्ति जनाउँदै नेता केसीले पार्टी नेतृत्वको रवैयाप्रति पनि आश्चर्य व्यक्त गर्नुभएको छ ।
मुलुक छ महिनायता कोरोना महामारी र भीषण प्राकृतिक प्रकोपको वितण्डामा परेको भन्दै उहाँले जनता भय, त्रास र आतंकले पीडित हुँदा तिनका आवाज बोलिनुपर्ने सार्वभौम निकाय बन्द गराइएकामा आपत्ति जनाउनुभएको छ ।
जनता चौतर्फी आक्रोश निराशा र जीवन–मरणको दोसाँधमा रहेको भन्दै नेता केसीले यही महामारीको आडमा सत्ताधारीहरू निर्वाध रूपबाट भ्रष्टाचार, राष्ट्रिय ढुकुटीको दोहन, असंवैधानिक तथा मनपरी नियुक्ती र पँजनीमा संलग्न रहेको आरोप लगाउनुभएको छ ।
फजुल खर्च गर्दै, मुलुकको संकटलाई अझ गहिरो बनाउँदै, पदको झिम्टाझम्टीमा मात्र रुमल्लिने र भ्रष्टहरूलाई उन्मुक्ति कार्य राज्यसत्ताबाट भइरहेकामा विपक्षीको आवाज हराएको उहाँको भनाइ छ ।
एकातिर देशको ढुकुटीमा ब्रह्मलूट मच्चाइरहँदा अर्कतिर गरीब, ज्यालादारीमा निर्वाह गर्ने समुदायको अकाल मृत्यु, आत्महत्या र स्वदेश फर्केका बेरोजगार युवाहरू विवश भएर पुनः विदेशिने स्थिति आएकोमा उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।
गम्भीर रोगीहरूप्रति सरकारले गैरजिम्मेवार व्यवहार देखाएको भन्दै नेता केसीले भ्रष्टहरुो ढाकछोप र अभयदानमा प्रधानमन्त्री आफै उत्रिएका बेला संसदको विशेष अधिवेशन ढाक्नु अनिवार्य भएको उल्लेख गर्नुभएको छ ।
राष्ट्रिय महत्वका यस्ता विषयमा प्रमुख प्रतिपक्ष र जनप्रतिनिधिहरुको गम्भीर छलफल र विश्लेषण हुनुपर्नेमा उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।
नेकपाभित्रको कुर्सी झगडामा संसद बाधक मानेर सभामुखलाई समेत जानकारी नदिई सरकारले संसद अधिवेशन अन्त्य गर्नु खेदजनक हो भन्दै उहाँले यस्ता संकटका बेला विदेशमा कसरी संसदले भूमिका निर्वाह गरिरहेको छ हेर्न सुझाउनु भएको छ ।
महामारीका बीच संघीय संसदको अधिवेशन सञ्चालन गर्न सकिन्छ भन्ने वास्तविकता, बेलायत र भारतमा कोरोना महामारीबीच चलेका संसद अधिवेशन, दक्षिण कोरियामा सम्पन्न आमनिर्वाचन, जापानमा सरकार हेरफेर, अमेरिकामा हुन गइरहेको राष्ट्रपतिको निर्वाचनलाई उहाँले दृष्टान्तका रुपमा देखाउनुभएको छ ।
प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरी मुलुकको वर्तमान संकट र परिस्थितिबारे समाधानमूलक विश्लेषण, समीक्षा गरी जनउत्तरदायी निष्कर्षमा पुग्ने भूमिका निर्वाह गर्न प्रमुख विपक्षी पार्टीको कर्तब्य भएको उल्लेख गर्दै कांग्रेस नेता केसीले पार्टी नेतृत्वलाई पहल र प्रयास गर्न आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्