१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अस्पतालको शैयाबाट गंगामाया अधिकारीको अपीलः ‘मेरा पति र छोराले न्याय पाऊन्’


0
Shares

gangamaya citizen appeal

काठमाडौं, असोज ५ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कार्वाहीको माग गर्दै वर्षौदेखि संघर्षरत गंगामाया अधिकारीले आफ्ना छोरा र पतिलाई न्याय दिन अपील गर्नुभएको छ ।

गंगामायाका पति नन्दप्रसाद अधिकारी छोराका हत्यारालाई कार्वाहीको माग गर्दागर्दै सरकारको नियन्त्रणमा रहेकै समयमा २०७१ साल असोज ६ गते ३३४ दिनका दिन मृत्युवरण गर्न बाध्य पारिएको थियो ।

६ वर्षसम्म पनि मृतक नन्दप्रसादको अन्त्येष्टी हुन सकेको छैन भने उनको शव त्रिवि शिक्षण अस्पतालको शवगृहमा राखिएको छ ।

गंगामायाले पतिको देहान्त भएको दिनको पूर्वसन्ध्यामा विज्ञप्ति निकाली पतिप्रति श्रद्धाञ्जलि अर्पण गर्दै भन्नुभएको छ, ‘उहाँलाई न्याय दिलाइयोस् भनी जोडदार माग राख्छु । उहाँको देहान्त भएको पाँच वर्ष बितिसक्दा पार्थिव शरीरलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बाकस नं ४ मा राखिएको छ । न्याय नपाउन्जेलसम्म म उहाँको पार्थिव शरीरको अन्तिम संस्कार नगर्ने प्रतिज्ञा गरेर बसेकी छु ।’

एक दशकभन्दा बढी समयसम्म सरकारले आफूसँग झूटा प्रतिज्ञा मात्र गरेको भन्दै उहाँले सत्य तथा न्यायका लागि सबैसँग ऐक्यबद्धताका लागि अनुरोध गर्नुभएको छ ।

माओवादीले सुराकीको आरोपमा १७ वर्षीय किशोर कृष्णप्रसादलाई २४ जेठ २०६१ मा चितवनको बकुलहर चोकमा हजुरबुवा हजुरआमा भेट्न जाँदा निर्ममतापूर्वक हत्या गरेका थिए ।

न्यायको याचना गर्दै आफू र पतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरू, सरकार, राष्ट्रिय मानवअधिकार आयोग लगायतका निकायको ढोका ढकढक्याउँदा पनि कुनै सुनुवाई नभएको दुखेसो उहाँले गर्नुभएको छ ।

यो पनि हेर्नुस्,

‘सत्य र न्यायका लागि मलाई समर्थन गर्न तथा घटनामा संलग्न भएकाहरूलाई अभियोजन गर्न अनि सरकारले मसँग गरेका प्रतिबद्धता कार्यान्वयन गराउन म पुनः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष अनुरोध गर्छु’ गंगामायाले विज्ञप्तिमा लेख्नुभएको छ ।

यो पनि हेर्नुस्,

स्वतन्त्र विज्ञहरूको टोलीले गर्ने औपचारिक फौजदारी अनुसन्धान फेरि थाल्न माग गर्दै उहाँले भन्नुभएको छ, ‘घरिघरि म हतोत्साहित हुन्छु तर फेरि मेरो छोरोको चम्किलो जवान मुहार सम्झन्छु, मेरा दिवंगत पतिका शब्दहरू सम्झन्छु अनि मलाई अघि बढिरहने साहस प्राप्त हुन्छ । म यसमा एक्ली छैन, मेरा लागि मानिसहरू संघर्षरत छन् र उनीहरूले यसलाई आफ्नै मुद्दा ठानेर अपनत्व लिएका छन् भन्ने कुरा मैले थाहा पाएकी छु । मानवताको कुनै मूल्य नभएका व्यक्तिका कारण द्वन्द्वमा आफ्ना छोराछोरी गुमाएका आमाहरूलाई म सम्झन्छु । अनि म आफ्नो संघर्षको उद्देश्य के हो भन्ने बुझ्छु र यसले मलाई साहस दिन्छ । मेरो छोराको हत्या गर्ने सबैलाई दण्ड नदिएसम्म म हार मान्ने छैन । उनीहरू दण्डित भएको दिन मात्र मेरो छोराले न्याय पाएको अनुभूति गर्नेछु । उसका पिताको सपना त्यही दिन मात्र पूरा हुनेछ र दुवैको आत्माले त्यतिखेर मात्र शान्ति पाउनेछ ।’