१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गोपालदास पत्रकारिता पुरस्कार श्रेष्ठलाई


0
Shares

काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गर्नुभएको छ ।

उहाँले राष्ट्रपति भवन शीतल निवासमा काउन्सिलको ५१औँ वार्षिकोत्सव समारोहमा आज दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्नुभएको हो ।

उक्त पुरस्कारको राशि रु. एक लाख ५१ हजार छ । सो पुरस्कार गत वर्ष हाँक साप्ताहिकका सम्पादक गोविन्दबहादुर थापालाई प्रदान गरिएको थियो ।

यस्तै ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ सेतोपाटी डटकमलाई प्रदान गरिएको छ ।

राष्ट्रपति भण्डारीले सेतोपाटी डटकमका तर्फबाट सम्पादक अमित ढकाललाई पुरस्कार प्रदान गर्नुभयो ।

उक्त पुरस्कारको राशि रु. ५० हजार छ । उहाँले पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोषले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई प्रदान गर्नुभयो ।

उक्त पुरस्कारको राशि रु. एक लाख ११ हजार १११ रहेको छ ।

कोभिड–१९ का कारणले यस वर्ष दुई पुरस्कार मात्र राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा प्रदान गरिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो ।

आजै काउन्सिलले घोषणा गरेका अन्य पुरस्कार भने सञ्चारग्राममा आयोजित कार्यक्रममा प्रदान गरिएको छ । रासस