
चितवन, असोज ६ । गत चैत ११ गते देखि सुरु भएको लकडाउनले बन्द रहेका चितवन सौराहाका होटल तथा रेष्टुरेन्टहरु खोल्ने तयारीमा छन् ।
व्यवसायीहरुले कोभिड संक्रमणको जोखिम न्यूनीकरण गरी होटल सञ्चालन गर्नका लागि आन्तरिक तयारी भइरहेको बताएका छन् ।
पछिल्लो समय लकडाउन हटाइएपछि आन्तरिक उडान र बाह्य उडान समेत सूचारु भएका छन् ।
जसका कारण फेरीपनि पर्यटन क्षेत्र सूचारु हुने तरखरमा छ । चितवनको सौराहा पनि देशको प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक हो ।
त्यसैले यहाँका होटल व्यवसायीहरुले कोभिड १९ संक्रमण रोकथामका लागि मापदण्ड पुरा गरी होटल सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।
लामो समय बन्द भएकाले सरसफाई र मर्मत गरेर होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउन ५ देखी २० लाख रुपैयाँ थप लगानी गर्नुपर्ने अवस्था रहेको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दिपक भट्टराईले बताउनुभयो ।
तत्काल पर्यटकहरु आउने सम्भावना नभएपनि सबै मापदण्ड पुरा गरेर होटल सुचारु गर्न लागिएको उहाँले बताउनुभयो ।
चितवनको पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्कन अझै दुईबर्ष लाग्ने समेत भट्टराईको भनाई छ ।
बाह्य पर्यटक तत्काल आउने सम्भावना नरहेको र चाडपर्व नजिकदै गरेकोले केही आन्तरीक पर्यटक आउने आशमा सौराहाका व्यवसायी रहेका छन् । व्यवसायीहरुलाई सरकारले उपेक्षा गरेको उनीहरुको बुझाई छ ।
सरकारले पुनरकर्जा दिने बताए पनि त्यसको कार्यान्वयन नहुँदा होटल सञ्चालन गर्न चालु पूँजीको अभाव भएको पनि व्यवासयीहरुले बताए ।
होटल व्यवसायी ध्रुव गिरीले लामो समय बन्द भएका होटलको सरसफाई गर्ने, मर्मत गर्ने काममा आफुहरु व्यस्त रहेको बताउनुभयो ।
उहाँले होटल सूचारु गर्नका लागि कर्मचारीहरुलाई १५÷१५ दिन गरी मासिक दुई सिफ्टमा काम लगाउने योजना बनाएको समेत बताउनुभयो ।
चितवनको सौराहामा करिब २ सयको संख्यामा होटल तथा रेष्टुरेन्टहरु रहेका छन् । त्यस्तै ५ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाउदै आएका छन् ।
सौराहा क्षेत्रका होटल तथा रेष्टुरेन्टहरु पूर्ण रुपमा पर्यटनमा आधारित छन् ।
कोभिडका कारण तत्काल बाह्य पर्यटक आउन नसक्ने भएपनि आन्तरिक पर्यटक आउने झिनो आशाले होटल रेष्टुरेन्ट सूचारु गर्न लागिएको व्यसायीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्