१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


भ्रष्टाचार मुद्दामा सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षकले पाए सफाई


0
Shares

काठमाडौं, असार १६ । सशस्त्र प्रहरी बलका चार जना पूर्व महानिरीक्षक (आईजीपी) ले भ्रष्टाचार मुद्दामा सफाई पाएका छन् ।

विशेष अदालतले पूर्व आईजीपी कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, वासुदेव वली र सनतकुमार बस्नेतसहित २२ जनालाई सफाई दिएको हो ।

उनीहरुविरुद्ध विसं २०७२ मा सालमा दायर गरिएको मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहितको इजलासले सबै प्रतिवादीलाई सफाई दिएको हो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार विसं २०७२ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका चार पूर्व आईजीपीसहितका विरुद्ध दायर मुद्दामा सफाई दिइएको हो ।

अख्तियारले प्रतिवादीहरूले सामान खरिद, बिल भर्पाई तथा ठेक्कापट्टामा करोडौँ भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो ।

विशेषका अध्यक्ष रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले ‘मिसिलमा संलग्न कागज र प्रमाणबाट भ्रष्टाचार भएको भन्ने आधार नदेखिएको’ फैसला गरेका हुन् ।

२०५८ देखि २०७१ मा सशस्त्र प्रहरीका विभिन्न ईकाईमा सामान खरिद गर्दा नक्कली कम्पनी र बिल खडा गरेर भ्रष्टाचार गरेको दावी अख्तियारले गरेको थियो ।