
वीरगञ्ज, असोज ६ । पर्सामा विगत दुई महिनादेखि युरिया मलको अभाव छ ।
मलको अभाव खपिरहेका किसानले अबको एक महिनाभित्र सो मल पाउने भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ ।
बङ्गलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउन लागेकाले सो मल एक महिनाभित्र आइपुग्ने कार्यालयका प्रबन्धक गोरखनाथ केसीले बताउनुभयो ।
उहाँले बङ्गलादेशबाट नेपालको लागि आउने ५० हजार मेट्रिक टन युरिया मलमध्ये पर्सा जिल्लाका लागि २५ हजार मेट्रिकटन हुने भएकाले लामो समयदेखि देखिएको मलको अभाव समाप्त हुने बताउनुभयो ।
सो कार्यालयले धान खेतीलाई लक्षित गरी पर्सा जिल्लामा असारसम्म युरिया मल विक्री गरेको थियो तर मल सकिएकोले सोको अभाव हुन गएको हो ।
सो कार्यालयले प्राप्त गरेको मल प्रदेश नं २, ३ र ४ को १६ वटा कार्यालयमा पठाउँदै आएको छ ।
यसैगरी सो कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा युरिया र डएपी मल छ÷छ हजार मेट्रिक टन तथा पोटास सात सय टन बिक्री गरेको छ ।
गत पुस महिनामा मल ल्याउने ठेक्का पाएका शैलुंग इन्टरप्राइजेज र होनीको मल्टिपलले समयमा रासायनिक मल ल्याउन नसक्दा युरिया मलको अभाव देखिएको हो ।
मन्त्रालयले सापटीमा मल ल्याउन अनुमति दिएपछि कृषि सामग्री कम्पनी लिमिटेडले सात दिनको समय राखेर बोलपत्र (टेण्डर) आह्वान गरिसकेको छ ।
समयमा रासायनिक मल नआउँदा यस भेगमा गरिने मकै, धान, मसुरो लगायत वर्खेबाली खेती प्रभावित हुने किसानको भनाइ छ ।
पर्सामा ४६ हजार हेक्टरमा धान खेती हुँदै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्