१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तथ्यहीन र झुटा समाचार कतिपय मिडियामा प्रकाशित र प्रसारित भइरहेका छन् : राष्ट्रपति


0
Shares

काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहमा उहाँले आमसञ्चारमाध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले स्वतन्त्रता र चेतनाको संवाहकको रूपमा रहेको प्रेसको निब परपीडक हुनुहुँदैन भन्नुभयो ।

‘राज्यको चौथो अङ्ग’ पत्रकारिता लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकविना लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताउनुभयो ।

उहाँले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका अपरिहार्य तत्व रहेको बताउँदै लोकतन्त्रको निरन्तर अभ्यासको क्रममा आमसञ्चारको क्षेत्रमा देखिएका कतिपय कमीकमजोरी क्रमशः हट्दै जानेछन् भन्ने आशा गरेको बताउनुभयो ।

अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी तथ्यहीन र झुटा समाचार एवं भ्रामक विचार कतिपय सञ्चारमाध्यममा प्रकाशित र प्रसारित भइरहेको उहाँको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुटा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बनेको उल्लेख गर्नुभयो ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई, ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ सम्पादक अमित ढकाल र ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई प्रदान गर्नुभएको थियो ।