२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


दशैंका लागि ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्दै खाद्य व्यवस्था कम्पनी


0
Shares

काठमाडौं, असोज ६ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ ।

हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ रुपमा विक्रि गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसी,बोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो ।

संस्थानले १४ सय च्याङ्ग्रा र १६ सय खसी,बोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडका योजना विभाग प्रमुख सर्मिला सुवेदीले बताउनुभयो ।

कति संख्यामा खरिद गर्ने भन्ने एकिन भएपनि कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।

संस्थानले विगत वर्षहरु जस्तै यो वर्षपनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि विक्रि गर्ने भएको छ । यस्तै सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने उहाँले बताउनभुयो ।

एकिकृत रुपमा र आफ्नै आउटलेटबाट सुपथ मूल्यमा बढी भन्दा बढी स्थानमा सुपथ मुल्य सपल सञ्चालन गरिने उहाँले बताउनुभयो ।

संस्थानले हरेक वर्ष दशैं, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले विगत वर्षहरुमा दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसी बोका ल्याउने गरेको छ ।

च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ । यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख बराबर रुपैयाँ बजेट छुट्याएको छ ।

गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख बढी रुपैयाँ बजेट छुट्याएको थियो ।