
काठमाडौं, असोज ६ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर अनशनरत डा. गोविन्द केसीलाई प्रहरीले गरेको ज्यादती र दुर्व्यवहारको सर्वत्र निन्दा र आलोचना भएको छ ।
जुम्लामा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थालेपछि उहाँलाई मंगलबार विमानमार्फत् काठमाडौं ल्याइएको थियो ।
आफू शिक्षण अस्पतालमा जाने बताउँदा बताउँदै प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगिएपछि डा. केसी त्यहाँ ओर्लन नमानेपछि प्रहरीले एम्बुलेन्सभित्रैबाट जबरजस्ती गरेर बाहिर निकालेको थियो ।
विमानस्थलबाट जबरजस्ती ट्रमा सेन्टरमा लगेर एम्बुलेन्सबाट झार्न खोज्दा प्रहरीले डा. केसीमाथि गरिएको ज्यादतीको भिडियो सार्वजनिक भएपछि सरकारको निन्दा चुलिएको हो ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अनशनरत डा. केसीमाथि सरकारले गरेको हर्कतको व्यवहारको आलोचना गर्दै लेख्नुभएको छ, ‘यो राजाको निरंकुश पञ्चायती शासन हो कि ओलीको कमाउनिष्ट शासन हो ?’
ह्यासट्याग सेभ डा. केसी लेख्दै भट्टराईले ट्वीटमा लेख्नुभएको छ, ‘डा. केसीका जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक ! स्वास्थ्य क्षेत्रको सुधार निम्ति डा. केसीले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गरौं !’
यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले अनशनरत केसीमाथिको दुव्र्यवहार असह्य रहेको भन्दै लेख्नुभएको छ, ‘जनताको स्वास्थ्यसेवा, सुविधासँग सम्बन्धित माग राखेर अनसनरत डा. केसीप्रति सरकारले गरेको दुर्व्यवहार व्यक्तिको संविधानप्रदत्त अधिकार माथिको बर्बरतापूर्ण आक्रमण हो । यसको जतिसुकै निन्दा गरे पनि पुग्दैन ! डा. केसीको अस्पताल रोज्ने अधिकारको सम्मान गर ! केसीका माग तत्काल पूरा गर !’
कांग्रेसकै सांसद गगन थापाले सत्याग्रही केसीमाथिको दुर्व्यहार क्रूरताको पनि पराकाष्ठा भएको भन्दै लेख्नुहुन्छ, ‘सत्याग्रहीमाथिको दुर्व्यवहारः क्रुरताको पराकाष्टा ! सत्याग्रहीलाई इच्छाविपरीत छुन पनि पाइँदैन । तर अनसनरत डा. केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ ।’
थापाले ट्वीटमा सरकारले पतनको बाटो खनेको टिप्पणी गर्दै भन्नुभएको छ, ‘क्रुर तानाशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ । सरकारले आफ्नो पतनको बाटो आफैं खनेको छ ।’
लेखक तथा राजनीतिक विश्लेषक हरि शर्मा डा. केसीलाई गरिएको व्यवहारलाई लज्जास्पदको संज्ञा दिँदै लेख्नुहुन्छ, ‘डाक्टर केसीलाई राज्य, शासन प्रशासन प्रहरीले गरेको व्यवहार अशोभनीय र लज्जास्पद छ । नेपाली नागरिक हुँ भन्न गाह्रो भयो कहाँ लुक्ने ?’
साझा पार्टीका संयोजक रवीन्द्र मिश्र भन्नुहुन्छ, ‘विषबृक्ष रोपेर, गोडेर, अमृत फलेको कहिँ छैन । जति कराए–चिच्याए पनि जे रोपेको छ, त्यही फल्ने हो । गल्ती सबैबाट हुन्छ, गल्ती हाम्रै हो । जानीजानी विष रोप्यौं । अब विषलाई उखलेर फाल्नै पर्छ । त्यो दिन धेरै पर छैन किनभने विषवर्षाबाट जनताले अत्यधिक पीडा भोगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्