१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जफत गरिएको प्याज भोलिदेखि बिक्री हुँदै, प्रतिकेजी ६० रुपैयाँ


0
Shares

काठमाडौं, असोज ७ । सरकारले कालोबजारी गर्ने व्यापारीहरुबाट जफत गरेको प्याज बिहीबार (भोलि) देखि बिक्री वितरण गर्ने भएको छ ।

सरकारले कालोबजारी गरेको आरोपसहित उपत्यकाको विभिन्न स्थानका व्यापारीहरुबाट जफत गरेको करिब १२ हजार केजी प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिहीबारदेखि विक्री गर्ने भएको हो ।

मंगलबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र व्यवसायी सहित बसेको बैठकले बुधबारबाट बिक्री गर्ने निर्णय गरेको थियो ।

तर तयारी नपुगेको भन्दै कम्पनीले बिहीबारदेखि मात्रै विक्री गर्न लागिएको बताएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका योजना विभागका विभागीय प्रमुख शर्मिला सुवेदीले मंगलबार मात्रै निर्णय भएकाले उक्त प्याजलाई गोदामसम्म ल्याउन र बिक्रीको प्रबन्ध मिलाउन तयारी नपुगेको कारण बिहीबारबाट विक्री वितरणको काम सुरु हुने बताउनुभयो ।

उक्त प्याज ढुवानी लागत र प्याकेजिङ्गसहित प्रतिकेजी ६० रुपैयाँको दरले उपभोक्तालाई बिक्री गर्न लागिएको समेत बताउनुभयो ।

गत सातादेखि भारतले प्याज निर्यातमा रोक लगाएपछि व्यवसायीले कृत्रिम अभाव गराएर कालोबजारी गरेका थिए ।