
हुम्ला, असोज ८ । सरकारले चीनसँगको सीमा विवादका बारेमा कर्मचारीलाई बोल्नै निषेध गरेको छ ।
हुम्लाको उत्तरी सीमा लाप्चाको नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको विषय सार्वजनिक गरेकामा हुम्लाका सहायक सिडियोसँग स्पष्टीकरण लिइएको हो ।
हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई गृह मन्त्रालयले चौबीस घण्टे स्पष्टीकरण सोधेको हो ।केही साताअघि जनप्रतिनिधिसहित लाप्चामा पुगेर फर्किएका सहायक
प्रजिअ हमालले चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आशयको प्रतिवेदन जिल्ला र मन्त्रालयमा पेश गरेपछि स्पष्टीकरण सोधिएको हो ।
स्थलगत अनुगमनमा गएका हमालले स्थानीय जनप्रतिनिधि र बासिन्दासँगको छलफलपछि लाप्चामा चीनले नेपाली भूमिमा भवन बनाएको हुनसक्ने प्रतिवेदन बनाउनुभएको बताइएको छ ।
हमालको प्रतिवेदनपछि प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीको नेतृत्वमा मन्त्रालयले सुरक्षासहितको टोलीलाई फेरि लाप्चा क्षेत्रमा पठाएको थियो ।
असोज ३ मा त्यहाँ गएको गिरी नेतृत्वको टोलीलाई चिनियाँ पक्षले नेपाली भूमि नमिचेको भन्दै फर्काए पनि उक्त टोलीले झण्डै आधा शताब्दीपछि ११ नम्बर सीमा स्तम्भ भने पत्ता लगाएको छ ।
प्रजिअ नेतृत्वको टोली स्थलगत भ्रमणबाट फर्केकै छैन । गिरी फर्केर प्रतिवेदन नै नबुझाउँदै हमालमाथि गृह मन्त्रालयले २४ भण्टे प्रष्टीकरण सोधेको हो ।
यता, काठमाडौंमा भने सरकारका प्रवक्ताले चीनसँग सीमामा कुनै विवाद नभएको स्पष्टीकरण बुधबार पत्रकार सम्मेलन गरेरै दिइसक्नुभएको छ ।
त्यसअघि नेपालस्थित चिनियाँ दूतावसले पनि चीनले नेपाली भूभाग नमिचेको भन्दै प्रेस नोट नै जारी गरेको थियो ।
भारतीय सञ्चारमाध्यमहरुले यस विषयलाई उछालेको आरोप लगाउँदै दूतवासले नेपाल आफैले स्थmगत निरीक्षण गर्नसक्ने उल्लेख गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्