१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सम्पत्ति विवरण नबुझाउने झण्डै १७ हजार कर्मचारी अख्तियारको कारबाहीमा


0
Shares

काठमाडौं, असोज ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १६ हजार ७ सय ४८ जनालाई कारबाही गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आज बसेको बैठकले सैनिक, निजामति, स्थायी शिक्षक तथा अन्य कर्मचारीले सम्पत्ति विवरण नबुझाएको भन्दै जनही ५ हजार जरिवाना तिरेर सम्पत्ति विवरण पनि सम्बन्धित निकायमा बुझाउन निर्देशन दिएको छ ।

कारबाहीमा संघीय तहका निजामतितर्फका २ हजार ५ सय ४ जना, नेपाल प्रहरीका १ सय ११ जना, शिक्षक ७ हजार ६ सय १३ जना, निजामति तथा सैनिक प्रहरीबाहेकका १ हजार ४ सय ३२ जनालाई कारबाही गरेको हो ।

यस्तै राष्ट्रिय सतर्कता केन्द्रको विवरण अनुसार प्रदेश तहमा सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारणा गरेका ५ सय ५४ जना तथा स्थानीय तहमा ४ हजार ५ सय र ३४ जना पनि कारबाहीमा परेका छन् ।

आयोगले जरिवाना तिरेर तोकिएको निकायमा सम्पत्ति विवरण पेश गरि सोको एकमुष्ठ जानकारी पठाउन पनि निर्देशन दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा १ मा सार्वजनिक पद धारणा गरेको व्यक्तिले साठी दिनभित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण तोकेको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।

सोही व्यवस्था पालना नगर्ने कर्मचारीलाई ऐन अनुसार कारबाही गरिएको आयोगले जनाएको छ ।