२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


१९औँ सार्क शिखर सम्मेलनका लागि पाकिस्तान तयार


0
Shares

काठमाडौं, असोज ८ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन चाँडो गर्न आह्वान गर्नुभएको छ ।

सार्क मुलुकका विदेशमन्त्रीहरुको भर्चुअल बैठकमा ज्ञवालीले क्षेत्रीय संगठनलाई गतिशील बनाउने विकल्पहरुको खोजी गर्न सदस्य मुलुकहरुसँग आग्रह गर्नुभएको हो ।

सार्कको अध्यक्षको हैसियतले नेपालले आज बैठकको आयोजना गरेको हो ।

संयुक्त राष्ट्र संघको महासभाको समयमा न्युयोर्कमा सार्कका विदेशमन्त्रीहरुको बैठक आयोजना गर्ने चलन छ ।

यसवर्ष कोरोनाको महामारीको कारण राष्ट्र संघीय महासभा भर्चुअल माध्यमबाट भइरहेको छ ।

‘सार्कलाई परिणामुखी क्षेत्रीय संगठन बनाउने र दक्षिण एसियाका जनताको जीवनमा देखिने परिवर्तन ल्याउनसक्ने बनाउन परराष्ट्रमन्त्रीले जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा भारतका विदेशमन्त्री एस जयशंकरसहित सार्कका सदस्य राष्ट्रका विदेशमन्त्रीहरुको उपस्थिति थियो ।

बैठकमा पाकिस्तानी अधिकारीको सहभागिता रहेपनि विदेशमन्त्री शाह महमुद कुरेसीको भने रेकर्डेड भिडियो सन्देश प्रसारण गरिएको थियो ।

यअसघिको न्युयोर्कमा भएका बैठकमा समेत भारत र पाकिस्तानका विदेशमन्त्री सँगै सहभागी हुँदैनथे ।

वर्णानुक्रमअनुसार भारतीय विदेशमन्त्री सम्बोधन गरेर बाहिरिएपछि मात्रै पाकिस्तानी विदेशमन्त्री बैठक स्थलमा प्रवेश गर्ने गरेका थिए ।

बैठकलाई सम्बोधन गर्दै पाकिस्तानी विदेशमन्त्री कुरेसीले सार्कको १९ औं शिखर सम्मेलनमा गर्न पाकिस्तान तयार रहेको बताउनुभयो ।

भारत पाकिस्तान तनावको कारण चार वर्षअघि हुनुपर्ने सार्कको शिखर सम्मेलन रोकिएको छ ।

बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरले आतंकवाद र राष्ट्रिय सुरक्षाको चुनौती क्षेत्रीय सहकार्यका बाधक भएको उल्लेख गर्नुभएको थियो ।

उहाँले भारतको छिमेक पहिलो भन्ने नीतिलाई दोहो¥याउनु भएको थियो ।