
काठमाडौं, असार १८ । निकै विवादित बनेको इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आईफा) नेपालमा नहुने भएको छ ।
सरकारले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनसमेत गर्ने उद्देश्यले गर्न खोजेको कार्यक्रमको सर्वत्र आलोचना भएपछि सरकार पछि हटेको हो ।
आईफा अवार्ड समारोहको संयोजन गरिरहेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आईफा अवार्ड नेपालमा नहुने पक्का–पक्की भएको र त्यसको घोषणा हुन मात्रै बाँकी रहेको बताएका हुन् ।
यसको आधिकारिक निर्णय भने बैठक बसेर गरिने उनले बताए । अवार्डबारे थप निर्णय भने पर्यटन मन्त्रालयले गर्ने पनि उनले जानकारी दिए । जोशीले संसदीय समितिले नै अवार्ड नगर्न निर्देशन दिईसकेकोले आईफा अवार्ड नेपालमा नहुने स्पष्ट पारे ।
असार ३ गते बसेको मन्त्रिपरिषद बैठकले आईफा नेपालमा गर्ने र त्यसको सबै आर्थिक भार सरकारले ब्यहोर्ने निर्णय गरेको थियो । तर यो निर्णयको सर्वत्र आलोचना भयो ।
आईफा अवार्ड कार्यक्रम सम्पन्न गर्न लाग्ने करिब १ अर्ब रकम सरकारले ब्यहोर्ने निर्णयको नागरिक, प्रतिपक्षी र सत्तारुढ दलकै नेतालेसमेत विरोध गरेका थिए । आईफा अवार्ड गर्नकै लागि काठमाडौं महानगरपालिकाले लगभग ४४ करोड रुपैयाँ दिन सहमति नै जनाएको थियो ।
अझ मंगलबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले त आईफा नेपालमा गर्ने निर्णय राष्ट्रघाती भन्दै नगर्न निर्देशन नै दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्