१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


शिखरबाट गिरेर चकनाचूर भएका अर्बपति अम्बानी, जोसँग सिर्फ एउटा कार बाँकी छ !


52
Shares

anil ambani declare bunkrupt india billionaire

काठमाडौं, असोज १० । यो कथा एक अर्बपति व्यापारीको दुःखको हो । जो संसारकै उच्चतम धनीहरुको समूहको शिखरमा पुगेर एकाएक टाट पल्टिएका छन् ।

कुनै बेला श्रीमतीलाई उपहारमा ८ करोड डलरको नौका (डुंगा) उपहार दिने हैसियत राख्ने उनी आज अर्काको घरमा भाडा तिर्न नपर्ने गरी शरणागत छन् ।

उनी अर्थात्, अनिल अम्बानी । भारतीय अर्बपति ब्यापारी । जो सन् २००८ मा विश्वका अर्बपति धनीहरुको क्लबमा छैठौं स्थानमा थिए । ४२ अर्ब डलरका साथ उनको आँखा अझै उकालो लाग्नेतर्फ तानिएका थिए ।

६१ वर्षको यस उमेरमा आएर संसारलाई भन्छन्, ‘मेरो सिर्फ चढ्ने एउटा सामान्य कार छ । छोराले जुटाइदिएको खर्चबाट घर धानिरहेको छु । रक्सी, चुरोट पिउँदिन । साह्रै अनुशासित जीवन बाँचिरहेको छु । याच्ट प्रयोग नगरेको त वर्षौवर्ष भइसक्यो ।’

उनले कल्पनामा पनि सोचेका थिएनन् कि शिशा फुटेझै उनको धनको साम्राज्य चकनाचूर भएर सकिने छ र एकदिन टाट पल्टेको घोषणा स्वयं गर्नुपर्नेछ ।

मुम्बईको पाली हिलस्थित नर्गिस दत्त रोडको यो भव्य बंगलाबाट एक दिन तल सडकमा ओर्लनु पर्ला र अर्काले दयामा दिएको घरमा गुजारा गर्नुपर्ला भन्ने त सपनामा पनि चिताउने कुरा थिएन नै ।

बाबु धिरुभाई अम्बानीले सृजना गरिदिएको धनको साम्राज्य दाजुभाइबीच अंशबण्डा गर्दा अदालत धाएका उनले कुनै दिन तिनै दाईसँग ऋणका लागि गिड्गिडाउन पर्ला भनेर कसरी सोचून् र ?

महत्वाकांक्षाको रकेट चढेर दौडँदा दाजुभाइबीचमै एकले अर्कालाई सकाउने होडमा यस्तो अवस्था आयो कि, बाबुको मृत्युपछि सम्पत्ति अंशबण्डाका लागि अदालतको शरण लिनु पर्‍यो ।

आफ्ना पतिले दुःखले आर्जन गरेको धनको साम्राज्यमा आफ्नै छोराबीचको गिद्दे संघर्ष टुलुटुलु हेर्न विवश थिइन्, आमा कोकिलाबेन ।

बाबु धिरुभाई अम्बानीको सन् २००२ मा मृत्यु हुने समयसम्ममा अम्बानी ग्रुपको अन्तर्राष्ट्रिय अनुहार बनिसकेका थिए, अनिल । दाजु मुकेश पर्दा पछाडीबाट सघाउने भूमिकामा सीमित ।

जसका कारण स्टानफोर्डमा पढेका र कुनै समय विश्व बैंकमा काम गर्ने सपना सजाएका दाजु मुकेशप्रति अनिलको व्यवहार हेयपूर्ण थियो, मिडिया रिपोर्टहरु उल्लेख गर्छन् ।

दाई मुकेश अम्बानीसँग उनको देशभित्र र बाहिर पनि निकटको प्रतिष्पर्धा थियो । जसको उदाहरण हो, दुई भाइबीचको सम्पत्ति माथिको यत्रो किचलोका बीच पनि दुबैको कम्पनी अर्बपति धनीहरुको सूचीमा प्रतिष्पर्धी थिए ।

सन् २००८ को विश्वका अर्बपतिको सूचीमा दाई मुकेश ४३ अर्ब डलरका साथ पाँचौ र भाइ अनिल ४२ अर्ब डलरका साथ लगत्तै मुनी छैठौं स्थानका साथ पिछा गरिरहेका थिए ।

आजका दिनमा दाई मुकेश ७८ अर्ब डलरका साथ एशियाकै सबैभन्दा धनी एवं संसारका अर्बपतिहरुको सातौं नम्बरमा रहँदा एक दशकअघि अर्बपतिहरुसँग कुममा कुम जुधाउने, उनै दाईसँग सम्पत्ति किचलोमा फस्दा पनि सँगैसँगै विश्व बजारमा प्रतिष्पर्धी अनिल टाट पल्टिएका छन् ।

६१ वर्षको यस उमेरमा आएर संसारलाई भन्छन्, ‘मेरो सिर्फ चढ्ने एउटा सामान्य कार छ । छोराले जुटाइदिएको खर्चबाट घर धानिरहेको छु । रक्सी, चुरोट पिउँदिन । साह्रै अनुशासित जीवन बाँचिरहेको छु । याच्ट प्रयोग नगरेको त वर्षौवर्ष भइसक्यो ।’

लक्ष्मी दाहिना हुँदाको समय यस्तो थियो कि, कुनै बेला राजनीतिमा नलागेरै पनि सम्पत्तिको सहयोगले उनलाई भारतीय संसदको माथिल्लो सदन राज्य सभासम्म स्वतन्त्र सांसदका रुपमा (सन् २००४–२००६) पुर्‍यायो ।

कुनै बेला बाबु धिरुभाई अम्बानीले बसालिदिएको रिलायन्सको साम्राज्य कस्ले कब्जा गर्ने भन्ने होडमा दाई मुकेशसँग शत्रु झै दर्जनौं मुद्दा लडेका अनिल अम्बानी अदालतका न्यायाधीशहरुसँग न्यायको याचना गर्दै भन्छन्, ‘हो, म दाईले दिएको भाडा नपर्ने घरमा शरणागत छु !’

प्रगतिको पखेटा फिंजाएर दाई मुकेश, संसारका धनीहरुलाई तल पार्ने होडमा लगातार दौडिरहँदा, भाइ अनिल संसारभरका आफ्ना ऋणीहरुको ऋण तिर्न नसकेर अड्डा अदालत धाइरहेका छन् र गिडगिडाइरहेका छन्, ‘वकीलको फिस तिर्न श्रीमतीको गहना बेचिरहेछु’ ।

भारतको चर्चित कम्पनी रिलायन्स समूहका मालिक अनिल अम्बानीले पछिल्ला दिनमा लन्डन कोर्टमा पुगेको मुद्दामा जवाफ दिँदै भने ‘श्रीमान्, म सामान्य जीवन बिताइरहेको छु । घरमा एउटा मात्र कार छ । मुद्दाका लागि वकीलको फिस तिर्न गरगहना बेचिरहेको छु ।’

व्यापारका लागि इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइनाको मुम्बई शाखा, चाइना डेभलभेन्ट बैंक र एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइनाबाट लिएको कर्पोरेट ऋण तिर्न नसकेर अनिलले आफैलाई टाट पल्टेको घोषणा गरेका हुन् ।

कर्पोरेट लोनका लागि आफै धरौटी बसेका अनिलविरुद्ध चिनियाँ बैंकले लन्डनको उच्च अदालतमा हालेको मुद्दामा यसअघि २२ मे लन्डन उच्च अदालतले अम्बानीलाई ७१ करोड डलर चुक्ता गर्न अन्तरिम आदेश दिएको थियो ।

लन्डन अदालतको कानुनी प्रक्रियामा तिर्नुपर्ने दस्तूर सात करोड भारु समेत उनले तिर्न नसकेको मिडिया रिपोर्टहरु छ । अदालतलाई दिएको बयानमा उनले घरमा भएका सबै गरगहना बेच्दा नौं करोड ९० लाख आएको र त्यो वकीलको फिसमा खर्चिएको उल्लेख छ ।

दूर्भाग्य के भने, समयले लखेटेपछि एक समयका विश्वका अर्बपतिहरुको शिखरमा रहेका अम्बानीले आफू टाट पल्टेको घोषणा गर्दा पनि उनको भनाइमा विश्वास नगरेर चिनियाँ कम्पनीले १५ जुनमा उनको सम्पत्ति छानबिनको माग गर्दै लण्डन अदालतमा अर्को रीट हालेको छ ।

त्यति मात्रै होइन घरमा रोल्स रोयल्स कार रहेकोबारे अदालतले गरेको जिरहमा उनी यि सबै हल्ला हुन् भन्दै गिड्गिडाए, ‘मसँग रोल्स रोयल्स कार छैन, अहिले एउटा सामान्य कार मात्र छ । अहिले मेरो खर्च परिवारले उठाइरहेको छ ।’

Anil ambani bankrupt announce india relaince group
All Picture: Web

कुनै समय धनको रवाफमा प्रतिष्पर्धा गर्दा दाई मुकेशले श्रीमती नीता अम्बानीलाई ५ करोड २० लाख डलरको जेट विमान उपहार दिँदा त्यसलाई उछिनेर उनले श्रीमती टीना अम्बानीलाई ८ करोड डलरको याच्ट नौका (डुंगा) उपहार दिएका थिए ।

सम्पूर्ण रुपमा उदांगिएका ६१ वर्षीय अनिल अम्बानी भन्छन्, ‘अहिले आफ्नो नाममा केवल एक लाख १० हजार डलरको पेन्टिङ मात्र छ ।’

कुनै बेला बाबु धिरुभाई अम्बानीले बसालिदिएको रिलायन्सको साम्राज्य कस्ले कब्जा गर्ने भन्ने होडमा दाई मुकेशसँग शत्रु झै दर्जनौं मुद्दा लडेका अनिल अम्बानी अदालतका न्यायाधीशहरुसँग न्यायको याचना गर्दै भन्छन्, ‘हो, म दाईले दिएको भाडा नपर्ने घरमा शरणागत छु !’

(एजेन्सीको सहयोगमा)