
सिन्धुपाल्चोक, असोज ११ । सुनकोसी गाउँपालिका–७ मा धमाधम किसानका बाख्रा मर्न थालेका छन् ।
बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन् ।
पछिल्लो दुई साताका बीच ५० भन्दा बढी बाख्रा मरिसकेको र मर्ने क्रम नरोकिएको स्थानीयवासी सानु तिमल्सिनाले बताउनुभयो ।
“कतिपयको त खोर नै रित्तिएको छ, धमाधम बाख्रा मरिरहेको छ”, तिमल्सिनाले भन्नुभयो, “गाउँपालिकालाई यसबारे सुनाउँदा कुनै चासो नै दिएन ।”
पिपिआर रोगको सुई माग गर्दा गाउँपालिकाले पठाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।
गाउँपालिकाले सबै वडामा गरी नौ गाउँ प्रहरी राखे पनि किसानका बाख्रा धमाधम मरिरहँदा औषधोपचारमा दक्ष चिकित्सक खटाउन सकेको छैन ।
गाउँपालिकाको पशु सेवा शाखामा एक मात्र कर्मचारी छन् ।
पछिल्लो दुई सातामा कापिङमा स्थानीयवासी सीताराम तिमल्सिना, हरि तिमल्सिना, अर्जुन तिमल्सिना, अनिता तिमल्सिना र अन्यका गरी ४० बढी बाख्रा मरेको छ ।
“मेरो आफ्नै खोरका नौ वटा बाख्रा मरिसकेको छ”, सानुले भन्नुभयो ।
स्थानीयवासीले पशु चिकित्सक पठाइदिन पटक पटक आग्रह गरेपछि गाउँपालिकाले बनेपाबाट दुई चिकित्सक झिकाएर रोग परीक्षणका लागि पात्ले र कापिङ क्षेत्रमा पठाएको उहाँले बताउनुभयो ।
परीक्षण गर्दा रोग पहिचान नभएको र पिपिआरसँग मिल्दो लक्षण देखिएको गाउँपालिका पशु सेवा शाखाका रामचन्द्र जिसीले बताउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्