१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सडक शुःल्कको विरोधमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध


0
Shares

कञ्चनपुर, असोज ११ । सडक सेवा शुःल्कको विरोधमा कृष्णपुर नगरपालिकाका सवारीधनीहरुले आइतबार पूर्व-पश्चिम राजमार्ग अबरुद्ध गरी आन्दोलनमा उत्रिएका छन् ।

सडकमा सवारी साधन गुडाएवापत नगरपालिकाले कर लिन थालेपछि त्यसबिरुद्ध नेपाली कांग्रेसको अगुवाइमा सवारी धनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

सडक अबरुद्ध हुँदा मध्याह्देखि सडकमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

नगरपालिकाले सडक सेवा शुल्क कर उठाउनका लागि रु. १० लाखमा ठेक्का सम्झौता गरेको छ ।

नगरपालिकाले दोहरो कर लिन थालेपछि आन्दोलनमा उत्रिनु परेको सवारीधनीहरुको भनाइ रहेको छ ।

ट्रक, ट्याक्टर, अटोरिक्सा, जीपलगायतका सवारी र ढुवानीका साधनबाट ठेकेदारले रकम असुल्न थालेपछि सवारीधनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

ठेकेदारले नगरपालिकाभित्रका सडकमा गुड्ने सवारी र ढुवानीका साधनबाट रु. ५० देखि रु. १०० सम्म असुल्न थालेपछि सवारीधनीहरुले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गर्नुपरेको बताएका छन् ।

नगरपालिकाले सवारी साधनबाट शुल्क असुल्ने नीतिमा परिवर्तन नगरे आन्दोलन जारी रहने व्यवसायी हरिबहादुर गैरालले बताउनुभयो ।

उहाँको संयोजकत्वमा सङ्घर्ष समितिसमेत गठन गरिएको जनाइएको छ ।

गत शुक्रबार समेत सवारीधनीहरुले सवारीका साधन लगेर नगरपालिका कार्यालय घेराउ गरी सडक करको विरोध गरेका थिए ।

नगर प्रमुख कर्णबहादुर हमालले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरी नगरपालिकाले सडक सेवा शुल्कका लागि ठेक्का सम्झौता गरेको बताउनुभयो ।

उहाँले सडक अबरुद्ध गर्दा सर्वसाधारणले दुःख पाउने हुँदा वार्ताबाटै समस्या समाधान गर्न आह्वान गर्नुभयो । रासस