
काठमाडौं, असोज १३ । सत्याग्रही वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएकामा विभिन्न संस्थाले चासो राखेका छन् ।
१६ दिनदेखि १९ औं अनशनमा रहनुभएका डा. केसीको कमजोर स्वास्थ्यले जुनसुकै बेला जोखिम निम्त्याउने भन्दै उनीहरुले जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
जवाफदेहीता निगरानी समितिले विज्ञप्ति निकाली नेपालको स्वास्थ्य–शिक्षा क्षेत्रमा सुधार, विगतमा सरकारले गरेको प्रतिबद्धताको पूर्ण कार्यान्वयन तथा भ्रष्टाचारीमाथि कारवाही गर्न लगायत ६ बुँदे माग राखी थाल्नु भएको सत्याग्रहको १६औं दिन हुँदा पनि माग सम्बोधन गर्न उदासीन भएकामा ध्यानाकर्षण भएको जनाएको हो ।
समितिका संयोजक चरण प्रसाईंले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीले ज्यान जोखिममा राखेर थाल्नु भएको सत्याग्रह कुनै ब्यक्तिगत स्वार्थ नभएर शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधार, राज्यको सामाजिक न्यायको दायित्व, चुस्त ब्यवस्थापन, सुशासन तथा विगतमा सरकार र उहाँबीच भएको सहमतिको पूर्ण कार्यान्वयनको लागि हो ।’
डा. केसीलाई जुम्लाबाट काठमाडौं स्थानान्तरण गर्ने क्रममा गरिएको दुर्व्यहार, उहाँका माग सम्बोधनका लागि दबाब दिन पुगेका शान्तिपूर्ण प्रदर्शनकारी गरिएको अत्यधिक बल प्रयोग, गिरफ्तारीप्रति पनि समितिले आपत्ति जनाएको छ ।
प्रहरी प्रशासनको दमनले व्यक्तिको संविधानले प्रत्याभूत गरेको हिडडुल गर्ने, शान्तिपूर्ण भेला तथा प्रदर्शन गर्न पाउने मौलिक तथा स्वतन्त्रताका हक कुण्ठित गरिएको समितिको ठहर छ ।
समितिले डा. केसीका जायज मागको वार्ताद्वारा तत्काल समाधान खोज्न र उहाँको बिग्रदो स्वास्थ्य स्थितिप्रति गम्भीर हुनका साथै जीवन रक्षाको लागि अविलम्ब पहल गर्न सरकार र सरोकारवाला अपिल गरेको छ ।
यसैगरी, न्यायका लागि मानवअधिकार सञ्जालले पनि एक विज्ञप्ति निकाली डा. केसीको जीवन रक्षा र उहाँसँग सरकारले गरेका सम्झौताहरु कार्यान्वयन गराउन माग गर्नुभएको छ ।
सञ्जालका अध्यक्ष ईन्द्र अर्यालले डा. केसी स्वयंलाई पनि जीवन रक्षाका लागि वैकल्पिक मार्गबारे सोच्न पनि आग्रह गर्नुभएको छ । डा. केसी भदौं २९ गतेदेखि अनशनमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्