
वालिङ, असोज १५ । गाई काटेर खाने तीन जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–९ जौबारीमा गत आइतबार राति १० बजे गाई काटेर मासु भाग लगाएको भन्ने सूचनाका आधारमा प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार गल्याङ–९ का ३८ वर्षीय नारायण भुसाल, २४ वर्षीय डोलुराम नेपाली र वालिङ–१३ बस्ने ३२ वर्षीय रामबहादुर सार्की पक्राउ परेका हुन् ।
उनीहरुले मासु खानका लागि जिउँदो गाई काटेर मासु भाग लगाएको र टाउको र खुट्टा जौबारीस्थित नारायण भुसालको बाँझो जमिनमा खाडल खनी पुरेको खुल्न आएको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।
प्रहरी, पशु सेवा कार्यालय गल्याङका पशु चिकित्सक, प्राविधिकसहितको टोलीले उक्त स्थानमा गई खाडल खोतलेर हेर्दा गाईको टाउको, चार खुट्टा, आन्द्रा र भूँडी कुहेको दुर्गन्धित अवस्थामा फेला परेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्