
काठमाडौं, असोज १६ । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले १९ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्नुभएको छ ।
चिकित्सा शिक्षा सुधारको मागसहित १९ औं पटकको सत्याग्रहमा रहनुभएका डा. केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव शिक्षण अस्पताल महाराजगन्ज पुग्नुभएको हो ।
सो क्रममा डा. यादवले केसीलाई भेट्नुका साथै उहाँको उपचारमा संलग्न चिकित्सकहरुसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो ।

डा. केसीले १९ औं पटक सत्याग्रह थाल्नुभएको १९ दिन पुगेको छ । जुम्लामा रहनुभएका केसीले यसपटक पनि त्यहीँबाट सत्याग्रह थाल्नुभएको थियो ।
भदौं २९ देखि अनशनमा रहनु भएका उहाँलाई असोज ६ गतेका दिन स्वास्थ्य अवस्था कमजोर भएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
त्यसपछि उहाँले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमै सत्याग्रह गरिरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले अहिलेसम्म वार्ताको कुनै पहल गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्