
गुल्मी, असोज १६ । पाँच दिनदेखि हराइरहेका इस्मा गाउँपालिका ३ दर्लामचौरका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् ।
दर्लामचौरको खाँसिचौरमा हराइरहेका ४९ वर्षीय वीरबहादुर कुमाल शुक्रबार मृतावस्थामा फेला परेका हुन् ।
इस्मा ५ अँधेरी खोलामा उनको शव सडेका अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जनाकारी दिनुभयो ।
स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी टोलीले घटनास्थलमा स्थलगत मुचुल्का गरेपछि शव परीक्षणका लागि गुल्मी अस्पताल तम्घास ल्याइने प्रहरी निरीक्षक रावलले बताउनुभयो ।
यसैबीच इस्मा ३ का एक व्यक्ति गत बिहीबार बेलुकीदेखि बेपत्ता बनेका छन् ।
दर्लामचौरका ६५ वर्षीय इन्द्रमणि मरासिनी घरमा सामान्य विवाद भएपछि घरबाट निस्केर हिँडेको र अहिलेसम्म सम्पर्कमा नआएको इस्मा ३ का वडाध्यक्ष तोयनाथ सापकोटाले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्