
काठमाडौं, असोज १८ । प्रमुख राजनीतिक दलका प्रवक्ताहरुले रिले अनसनरत पत्रकार र कर्मचारीहरुको मागप्रति ऐक्यवद्धता जनाएका छन ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ताहरुले अनसनरत सञ्चारकर्मीहरुसँग भेटगरी उनीहरुले उठाएका मागप्रति ऐक्यवद्धता जनाएका हुन ।
लोकतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्ने सञ्चारकर्मीहरु नै बाँच्न पाउने हकबाट बञ्चित हुने अवस्था आउन नहुने उनीहरुको भनाई छ ।
सरकारले कोरोनाकालमा अग्रपंक्तिमा रहेर काम गरिहेका व्यक्तिहरुको सुरक्षा, स्वास्थ्य र प्रोत्साहनका लागि ध्यान दिन नसकेको बेला सत्तारुढ दलका प्रवक्ता नारायणकाजी श्रेष्ठले कसैलाई पनि बाँच्न पाउने हकबाट बञ्चित गर्न नुहने बताउनुभयो ।
विभिन्न कारण देखाएर सरकारले तोकेको न्यनतम पारिश्रमिक नदिने, निष्कासन गर्ने, बेतलबी विदामा राखेर उनीहरुको बाच्न पाउने अधिकारबाट बञ्चित गर्न नहुने बताउनुभयो ।
श्रेष्ठले कोरोनालाई कारण देखाएर सिर्जना गरिएको समस्याका कारण श्रमजीविहरुले आफ्नो हक गुमाउनुपरेको बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना सुरु भएको ९ महिना मात्रै भएपनि मिडिया क्षेत्र विगत २, ३ वर्षबाट नै राज्यबाट प्रताडित रहेको बताउनुभयो ।
सञ्चारकर्मीसँग व्यवस्थापक र लगानीकर्ताहरुको हितका लागि समेत सरकारले ध्यान दिन नसकेको उहाँले बताउनुभयो ।
अहिले सञ्चारकर्मीहरुको अनसन प्रधानमन्त्रीको लोकतान्त्रिक संस्कृति प्रतिको प्रतिवद्धताको परीक्षाका रुपमा रहेको उहाँले बताउनुभयो ।
विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरु विगत चार दिनदेखि रिले अनसनमा रहेका छन ।
प्रतिक्रिया दिनुहोस्