
धादिङ, असोज २० । धादिङ भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
नेत्रावती डब्जोङ गाउँपालिका ५ स्थित बेतिनीमा स्वराज ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्रक चालक गङ्गाजमुना गाउँपालिका ४ का ४० वर्षीय बेगबहादु तामाङ, ५८ वर्षीय दलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।
लपाङबाट कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको स्वराज ट्रक सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका चालक तामाङको जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी धादिङको गल्छी गाउँपालिका ८ स्थित गोगनपानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
कच्ची सडकबाट बा ६४ प ६९६४ नम्बरको मोटरसाइकल करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार स्थानीय ६५ वर्षीय हरि बुढाथोकीको घटनास्थलमा नै मृत्यु भएको हो ।
मोटरसाइकल चालक भने घाइते भएका छन् ।
दुबै दुर्घटनामा घाइते हुनेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्