२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


डा. केसीसँग संवाद थालिएको प्रधानमन्त्री ओलीद्वारा सचिवालयलाई जानकारी


0
Shares

ncp sachiwalaya meeting discussion on dr kc strike

काठमाडौं, असोज २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले सत्याग्रही डा. गोविन्द केसीसँग संवाद थालनी भएको जानकारी दिनुभएको छ ।

बैठकमा नेताहरुले डा. गोविन्द केसीको आमरण अनशन र उहाँले उठाएका माग सम्बोधनबारे जानकारी मागेका थिए ।

प्रधानमन्त्री ओलीले डा. केसीसँग वार्ता शुरु भइसकेको र त्यसका लागि शिक्षा सचिवको नेतृत्वमा टोली पठाइएको जानकारी दिनुभएको थियो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा डा. केसीको अनशनबारे छलफल भएको जानकारी दिनुभयो ।

सञ्चारकर्मीहरुसँग प्रवक्ता श्रेष्ठले डा. केसीलाई सत्याग्रह फिर्ता लिन आग्रह गर्ने निर्णय सचिवालय बैठकले गरेको जानकारी दिनुभयो ।

नेताहरु माधव नेपाल, झलनाथ खनाललगायतले यसअघि नै डा. केसीको जीवन रक्षाका लागि कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

मंगलबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले रिक्त रहेका तीन मन्त्रालयमा पठाउने मन्त्रीका बारेमा छलफल हुने चर्चा चलेपनि त्यस विषयमा कुनै निर्णय भएन ।

प्रवक्ता श्रेष्ठले मन्त्री नियुक्तिबारे कुनै छलफल नभएको प्रतिक्रिया दिँदै दुई अध्यक्षबीच भने छलफल भइरहेको जानकारी दिनुभएको हो ।

बैठकमा नेताहरुले प्रधानमन्त्रीले एकलौटी रुपमा गरेको राजदूत सिफारिस गरेकाबारे भने जवाफ मागेका थिए ।