१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको सफल उपचार


0
Shares

भरतपुर, असोज २१ । चितवनको भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमित बिरामीको सफल उपचार गरिएको छ ।

भरतपुर महानगरपालिका वडा नं १२ का ५१ वर्षीय पुरुषको अस्पतालले प्लाज्मा थेरापीबाट सफल उपचार गरेको हो ।

गत भदौ ३० गते कोरोना पोजिटिभसहित सो अस्पताल भर्ना हुनुभएका उहाँमा ज्वरो, खोकी र स्वासप्रश्वासको समस्या देखिएको थियो ।

उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कोभिड आइसियुमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको अस्पतालका प्लाज्मा थेरापी कोअर्डिनेटर कन्सल्टेन्ट फिजिसियन डा. कल्याण सापकोटाले जानकारी दिनुभयो ।

पुरुषलाई यही असोज ७ गते प्लाज्मा थेरापीबाट उपचार गरिएको उहाँले बताउनुभयो ।

उक्त अस्पतालले प्लाज्मा थेरापी उपचारमा पहिलो बिरामीमै सफलता पाएको डा सापकोटाले जानकारी दिनुभयो ।

करिब १५ दिन आइसियु र चार दिन वार्डमा उपचारपछि पुरुष निको भएर मङ्गलबार घर फर्किनुभएको छ ।

प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना सङ्क्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारीमा उत्साह र थप हौसला थपिएको छ ।

अस्पतालले अन्य सङ्क्रमित भएर निको भएकालाई पनि प्लाज्मा दान गर्न आग्रह गरेको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु नजिक पुगेका बिरामी प्लाज्मा थेरापी उपचार विधिबाट निको भएर घर फर्किंदा उपचारमा संलग्न चिकित्सकदेखि प्लाज्मा दिने दातासमेत उत्साहित र खुशी देखिएका थिए ।

उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको अथक प्रयास र लगनशीलताले जटिल अवस्थामा पुगेका कोरोना सङ्क्रमितलाई बचाउन सकिएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बताउनुभयो । रासस