७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


नेपाल–भारत फ्रेन्चाइज सम्मेलन असोज ३० देखि हुने


0
Shares

nepal india expo

काठमाडौं, असोज २३ । नेपाल–भारत फ्रेन्चाइज सम्मेलन यही असोज ३० देखि आगामी कार्तिक २ गतेसम्म हुने भएको छ ।

भर्चुअलका माध्यमबाट पहिलो पटक हुन लागेको नेपाल–भारत फ्रेन्चाइज सम्मेलन, अवार्ड एण्ड समिटको यो दोस्रो संस्करण हो ।

नेपाली र भारतीय ब्राण्ड र आगन्तुकलाई एकै मञ्चमा जुटाई एकार्का देशबीच लगानी, प्रविधि एवं व्यवसायिक मोडल आकर्षित गर्ने उद्देश्य यस सम्मेलनको रहेको जनाइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रेन्चाइज डट कमको साझेदारीमा सम्मेलन नेपालस्थित भारतीय राजदूतावासले आयोजना गर्न लागेको हो ।

यसमार्फत नेपाल तथा भारतका प्रशिद्ध ब्राण्ड र अवलोकनकर्ताहरूलाई एउटै छानामुनी ल्याई दुबै देशका एक सयभन्दा बढी प्रतिष्ठित ब्राण्डले आफ्ना अवसरको प्रदर्शनी गर्ने छन् भने सम्मेलनलाई दुई हजारभन्दा बढी योग्य लगानीकर्ताले फ्रेन्चाइज, डिलरसीप तथा अनुमतीपत्र लगायतमा व्यवसायिक अवसर खोज्ने महत्वपूर्ण माध्यमको रूपमा उपयोग गरी लाभ उठाउने छन् ।

कोभिड–१९ को विश्वमहामारीका कारण यस वर्षको नेपाल भारत फ्रान्चाइज एक्सपो तथा सम्मेलन भर्चुअलका माध्यमबाट आयोजना हुन लागेको आयोजकले जनाएको छ ।

यो सम्मेलनलाई नेपाल भारतबीच लगानी प्रवद्र्धन, स्थापित स्टार्टअपहरू तथा फ्रेन्चाइज आदान प्रदानको महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ ।

पहिलो एक्सपोमा नेपालका स्थापित १० र भारतका ५० गरी जम्मा ६० वटा स्थापित ब्राण्ड सहभागि थिए ।

उक्त एक्स्पोले २ हजारभन्दा बढी ख्याती प्राप्त उद्यमी व्यवसायीलाई प्रत्यक्ष अवसर प्रदान गर्नुको साथै कार्यक्रम मार्फत व्यवसायिक अवसर विस्तार गर्न, सम्बन्ध सुधार गर्न, नयाँ अवसर तथा नविनतम सोंचको आदान प्रदान गर्न सघाएको थियो ।