६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


किष्ट अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तको आक्रोश


0
Shares

corona patient death kist hospital

ललितपुर, असोज २३ । ललितपुरको किष्ट अस्पतालमा राखिएको कोरोना संक्रमित बिरामीको चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तजन आक्रोशित बनेका छन् ।

चिकित्सक र स्वास्थ्यकर्मीको २४ सै घण्टा निगरानी हुने भनिएपछि भर्ना गरिएको विरामीलाई उपचार सेवा नदिएको पीसीआर परीक्षणसमेत नगरेको, खाना नास्ता समयमा नदिएको आरोप पीडित पक्षले लगाएका छन् ।

गत शनिवार कोरोना संक्रमण भएपछि किष्ट अस्पतालमा भर्ना गरिएका नुवाकोट तादी गाउँपालिकाका शेरबहादुर तामाङको अस्पतालको लापरवाहीका कारण बुधबार बिहान मृत्यु भएको थियो ।

अस्पतालमा रहँदा अस्पतालले राम्रो व्यवहार नगरेको गुनासो तामाङले बारम्बार गर्ने गरेको आफन्तको भनाइ छ । बिरामीले हात हल्लाएर बोलाउँदा पनि स्वास्थ्यकर्मी घण्टौं नआउने गुनासो विरामीले गरेको उनकी छोरी तारा मोक्तानले जानकारी दिनुभयो ।

बुधबार बिहान ट्वाइलेटमा ढलेको र आईसियूमा लगेर उपचार गर्दा मृत्यु भएको अस्पतालले बताएपछि आफूलाई विश्वास नलागी सिसिटीभी फुटेज हेर्न खोज्दा नदिएको छोरा प्रेम तामाङको भनाइ छ ।

सिसिटीभीसमेत हेर्न नदिँदा तोडफोडमा उत्रिएपछि फुटेज हेर्न दिएको र त्यस समयमा स्वासथ्यकर्मीले उचित सेवा प्रदान नगरेको देखिएकाले अस्पतालविरुद्ध उजुरी दिन लाग्दा प्रहरीले उजुरी नलिएको मोक्तानको भनाइ छ ।

लडेको भनेको ठाउँको फुटेज हेर्दा धमिलो र केही नदेखिने भएपछि शंका लागेकोले सत्य–तथ्य छानविन गर्न माग गर्दै मेडिकल काउन्सिलमा उजुरी दिन लागिएको उनीहरुले बताएका छन् ।

दोषी चिकित्सक र स्वास्थ्यकर्मीलाई कार्वाही गर्न माग गर्दा पटक पटकको वार्तामा पनि अस्पतालले नमानेपछि उजुरी दिन लागेको उनीहरुको भनाइ छ ।

मृतकको अन्त्येष्टीका लागि कोरोना परीक्षणको रिपोर्ट चाहिने नेपाली सेनाले भनेपनि अस्पतालले पाँच दिन राख्दा परीक्षणसम्म नगरेको र रिपार्ट नहुँदा शव व्यवस्थापनमा समस्या आएको उनीहरुको भनाइ छ ।

अस्पतालले भने अस्पतालको कुनै लापरवाही नभएको भन्दै स्वास्थ्यकर्मीलाई कार्वाही गर्न नसकिने जनाएको छ ।