
काठमाडौं, असोज २२ । सरकार र वरिष्ठ चिकित्सक डा. गोविन्द केसी पक्षबीचको शुक्रबार अबेर राति भएको वार्तामा कुनै सहमति बन्न सकेन ।
बिहीबार भएको वार्तामा सहमति नजिक पुगेको भनिएकामा शुक्रबार वार्ता नै अबेर मात्र थालिएको थियो । डा. केसी पक्ष दिनभर वार्ताका लागि कुरिरहेपनि सरकारी पक्षले आलटाल गर्दा अबेर मात्र दुई पक्षबीच वार्ता भएको थियो ।
तर त्यो वार्तामा पनि सहमति बन्न नसकेको हो । केसी पक्षले सरकार आलटाल गरेर डा. केसीको स्वास्थ्य जोखिममा पार्न चाहिरहेको आरोप लगाएका छन् ।
सरकारी वार्ता टोलीले भने डा. केसीको गिर्दो स्वास्थ्य अवस्थाबारे जानकार रहेको र संवेदनशील भएर वार्ता भइरहेको भन्दै सहमति हुने उल्लेख गरेको छ ।
यता, दुई पक्षबीचको संवाद निष्कर्षहीन हुँदा उता डा. केसीको स्वास्थ्य अवस्था भने निकै गम्भीर भएको छ । उहाँको मुटुमै समस्या देखिन थालेको भन्दै चिकित्सकहरुले हृदयाघातको त्रास बढेको बताएका छन् ।
सरकारले शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वमा डा. केसी पक्षसँग वार्ता गर्न टोली बनाएको थियो ।
उक्त टोली र डा. जीवन क्षेत्री नेतृत्वको केसी पक्षीय वार्ता टोलीबीच बिहीबार झण्डै दश घण्टा वार्ता भएको थियो ।
जुम्लाबाट सत्याग्रह थाल्नु भएका डा. केसी ६ बुँदे मागसहित २७ दिनदेखि अनशनरत हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्