
काठमाडौं, असोज २५ । नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो पटक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान उपमहानगरपालिका–८ की ६२ वर्षीया महिला, धनकुटाकी ६१ वर्षीया महिला र दुबही नगरपालिकाका ६५ वर्षीय पुरुष छन् ।
यसैगरी, रुपन्देहीमा चार जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिकाका–११ का ८४ वर्षीय वृद्व र ६१ वर्षीया महिलाको उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ भने बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति मृत्यु भएको जनाइएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको हिजो मृत्यु भएको छ ।
यता, चितवनमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत दुई र भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
चितवन मेडिकल कलेजमा उपचार गराइरहेका ८५ वर्षीया महिला र सर्लाही हरिवनका ३८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो । भरतपुर अस्पतालमा ४७ वर्षीय पुरुषको हिजो राती मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैबीच, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पनि दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको हरिनगरका ७१ वर्षीय बृद्ध र दुहबी ३ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
यसैगरी, बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पनि दुई कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० का ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिकाका ७१ वर्षीया महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको अस्पतालले जनाएको छ । भेरी अस्पताल र कोहलपुर शिक्षण अस्पतालमा गरि २० जना सिकिस्त अवस्थामा छन् ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ का ५२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय २९ पुगेको छ ।
यता, संक्रमितको चाप ह्वात्तै बढ्दा देशभरका अस्पतालहरु भरिएका छन् । कोरोना संक्रमण भई गम्भीर भएकाहरुलाई शैयाकै अभाव हुन थालेको छ ।
सरकार आफैले संक्रमितलाई वेहोश नभई अस्पताल नआउन भन्न थालेको छ । जसका कारण आम मानिसमा त्रास फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस्