
काठमाडौं, असोज २६ । सत्तारुढ नेपाल कम्युननिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा देखिएको विवाद उत्कर्षमा पुगेको छ ।
चरम गूटबन्दीको शिकार भएको संगठन चिरा परेको छ । एकले अर्को पक्षलाई निषेध गर्ने गरी नेताहरु अगाडी बढेका छन् ।
नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै अर्का नेता यामलाल कँडेल पक्षले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
जसको असर अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गराउन भूमिका खेलेका दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई परेको छ ।
मुख्यमन्त्री शाहीले शाहलाई दलको प्रमुख सचेतकबाट हटाएर सचेतक सीता नेपालीलाई उक्त जिम्मेवारी दिनु भएको छ ।
कार्वाहीमा परेर पद गुमाएका गुलाबजंग शाहले मुख्मन्त्री शाहीको निर्णयलाई अवैधानिक भन्दै मंगलबार दलको बैठक गरेर शाहीलाई बहुमतले बर्खास्तगीको निर्णय गर्ने चेतावनी दिनुभएको छ ।
अर्कातिर शाहीद्वारा नियुक्त नेपालीले भने मंगलबारको बैठक रद्द गरिएको भन्दै अब सल्लाह गरेर १०÷१५ दिनमा दलको बैठक बोलाउने प्रतिक्रिया दिनुभएको छ ।
शाहीविरुद्ध पूर्वमाओवादीका तीन र पूर्वएमालेका १५ गरी १८ जना प्रदेश सांसदले आइतबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
केन्द्रमा केही समय प्रधानमन्त्री केपी ओलीलाई हटाउन पुष्पकमल दाहाल–माधव नेपाल समूहले सचिवालयदेखि स्थायी कमिटीसम्म लबिङ गरेको दृष्य देखेकाहरुलाई कर्णाली प्रदेशको यो किचलोले नेकपाभित्रको विवाद भुसको आगोसरह भएको देखाएको छ ।
शाहले मुख्मन्त्रीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेसँगै अवैधानिक भैसकेकाले उनको कार्वाहीको कुनै अर्थ नभएको प्रतिक्रिया दिनुभएको छ ।
नवनियुक्त प्रमुख सचेतक नेपालीले भने शाह जिम्मेवारीबाटै मुक्त भैसकेकाले उहाँले बोलाएको बैठकको अर्थ नहुने भन्दै अर्को बैठक १५ दिनभित्र बस्ने बताउनुभयो ।
मुख्यमन्त्री शाहीले आइतबारकै मिति राखेर शाहलाई प्रमुख सचेतकबाट हटाएको पत्र पठाउनु भएको हो ।
कर्णाली प्रदेश सभामा नेकपाका ३३ सांसद रहेकामा १८ जना अविश्वासको पक्षमा उभिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्