२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अब कोरोना परीक्षण शुल्क एक हजार रुपैयाँ मात्र लिन पाइने


0
Shares

corona test fee

काठमाडौं, असोज २७ – सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएर एक हजार रुपैंयाँ कायम गरेको छ ।

यो शुल्क कोरोना संक्रमण परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्टका लागि भएको मन्त्रालयले जनाएको छ ।

साथै मन्त्रालयले एन्टिजेन बेस्ड टेस्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यताप्राप्त ल्याबले मात्र गर्न पाउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई पत्र पठाई एफडिए, इयुएबाट मान्यताप्राप्त र स्वास्थ्य सेवा विभागबाट मान्यताप्राप्त किटहरु मात्र सूचीकृत गर्न समेत निर्देशन दिएको छ ।

बायोसेफ्टी प्रोटोकल नमुना संकलन विधि तोकेबमोजिम हुने र नमुना संकलन विधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेबमोजिम हुने मन्त्रालयले जनाएको छ ।

परीक्षण पोजिटिभ आएमा काठमाडौंमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्ने र नेगेटिभ आएमा सम्बन्धित व्यक्तिलाई रिपोर्ट दिइने मन्त्रालयले जनाएको छ ।

पीसीआर टेष्टका लागि भने सरकारले दुई हजार रुपैयाँ परीक्षण शुल्क लिन अनुमति दिँदै आएको छ ।

मंगलबारको नियमित प्रेस बिफ्रिङमा गौतमले एन्टिजेनका लागि एक हजार रुपैयाँ मात्र लिन पाइने प्रष्ट गर्दै यसमा पनि समयानुकूल समायोजन गरिने बताउनुभयो ।

शुरुमा परीक्षणका लागि पाँच हजार पाँच सय रुपैयाँ कायम गरेको मन्त्रालयले त्यसपछि चार हजार चार सय र पछिल्लो पटक त्यसलाई पनि घटाएर दुई हजारमा झारेको थियो ।

मन्त्रालयले कोरोना भाइरसको जोखिम लगातार बढिरहेकाले जनस्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न फेरि सचेत गराएको छ ।