
सिमकोट, असोज २७ । हुम्लाको उत्तरी क्षेत्रमा रहेका दुई गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ ।
सिमकोट –८ धारापोरीस्थित टावरमा खराबी आएका कारण पाँच दिनदेखि त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाबाट वञ्चित छन् ।
धारापोरी, ठाडा ढुङ्गगाको लेकमा रहेको नमस्ते टेलिफोनको टावरमा खराबी आउँदा स्याडा, डाँडाफया, चौगनफया, धारापोरी, खोल्सी र नामगा गाउँपालिकाका हेप्का, धिगाँलगायत गाउँ सञ्चार सेवाबाट वञ्चित रहेको खोल्सीबाट बमबहादुर थापाले जानकारी दिनुभयो ।
पाँचदिनदेखि टेलिफोन सेवाले काम नगर्दा स्थानीय सञ्चारबाट विच्छेद हुनाका साथै टाढा रहेका आफन्तसँग टेलिफोनमा कुराकानी गर्न नसकिएको नुर्बु बुढाको भनाइ छ ।
मर्मतका लागि नेपाल टेलिकम सिमकोटमा जानकारी गराउँदा कुनै वास्ता नगरिएको स्थानीयवासीले आरोप लगाएका छन् ।
नमस्ते टेलिफोनको टावरले राम्रो काम नगर्दा स्थानीयवासीले बारम्बार समस्या भोग्दै आउनुपरेको छ ।
गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिँडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको थापाले बताउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्