
सर्लाही, असोज २७ । जिल्लाका उखु किसानले सरकारले पठाएको अनुदान रकम दशैंअघि नै भुक्तानी गर्न माग गरेका छन् ।
गत वर्ष जिल्लाका उखु उत्पादक किसानले पाउनुपर्ने सरकारी अनुदानको रकम केही दिनअघि कोष तथा लेखा नियन्त्रक कार्यालय मलङ्गवामा आइसकेको छ ।
जिल्लाका उखु उत्पादक किसानका लागि रु. २१ करोड ३४ लाख ९५ हजार निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख जगतप्रसाद थपलियाले जानकारी दिनुभयो ।
रु. ४४ लाख ४३ हजार ६५ अर्थात २।५ प्रतिशत कम बजेट निकासा आएको कार्यालय प्रमुख थपलियाले बताउनुभयो ।
सर्लाहीका उखु किसानका लागि रु. २१ करोड ७९ लाख ३८ हजार ६५ निकासा हुनुपर्ने थियो ।
अहिलेसम्म आएको रकम तत्काल उखु किसानलाई भुक्तानी गर्न माग गर्दै सर्लाहीका उखु उत्पादक किसानहरुले प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षणपत्र समेत बुझाएका नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो ।
जिल्लाका चिनी उद्योगमा छिमेकी जिल्लाका उखु उत्पादक किसानहरुले पनि उखु बिक्री गरेकाले अहिले आइसकेको रकम यहाँका किसानलाई वितरण गर्न र बाँकी किसानलाई थप रकम निकासा भएपछि वितरण गर्न आग्रह गरिएको अध्यक्ष मैनालीले बताउनुभयो ।
दशैंमा किनमेल गर्नुपर्ने भएकाले किसानलाई तत्कालै अनुदान रकम खातामा पठाइदिन आग्रह गर्दै उखु उत्पादक महासङ्घका अध्यक्ष मैनाली, अगुवा उखु किसान राजकुमार उप्रेतीलगायतले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन् ।
अघिल्ला वर्षहरुमा चिनी उद्योगलाई निकासा गर्ने र उद्योगले किसानको बैंक खातामा जम्मा गरिदिने व्यवस्था भएपनि यसवर्ष भने कोलेनिकाले सोझै किसानको बैंक खातामा रकम हाल्ने व्यवस्था रहेको कोलेनिका प्रमुख थपलियाले बताउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्