
काठमाडौं, असोज २७ । ऊर्जामन्त्री वर्षमान पुनले आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने जानकारी दिनुभएको छ ।
सरकारी र निजी क्षेत्रको लगानीमा १५ हजार मेगावाट विद्यतको उत्पादन सजिलै हुनै भन्दै मन्त्री पुनले बजारको पनि समस्या नरहेको स्पष्ट पार्नुभयो ।
कूल १० हजार मेगावाट विद्युत् आन्तरिक र पाँच हजार मेगावाट बाह्य बजारमा पठाउने गरी नीतिगत र प्रक्रियागत तयारीका काम अघि बढेको पुनको भनाई थियो ।
ऊर्जा क्षेत्रको विस्तृत अध्ययन गरी नीतिगत सुझाव पेश गर्न बनाएृको कार्यदलको पहिलो बैठकमा मन्त्री पुनले उत्पादिन विजुलीको लागि बजारको समेत समस्या नभएको बताउनुभयो ।
मन्त्रिपरिषद्को बैठकले ऊर्जा, जलस्रोेत तथा सिञ्चाइमन्त्री वर्षमान पुन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल सदस्य रहने गरी चार सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदललाई जलविद्युत् उत्पादन, प्रसारण र वितरण, प्रसारण लाइन, आन्तरिक र बाह्य बजारको अवस्था, उपभोग तथा खपतको प्रवृत्ति, औद्योगिक विकास र आर्थिक क्रियाकलापको विस्तारले माग गर्ने विद्यतको परिणाम, हाल उपलब्ध विद्युत् र निर्माणाधीन विद्युत् आयोजनाको समेत समग्र अध्ययन गरी नीतिगत सुझाव पेश गर्ने जिम्मेवारी छ ।
मंगलबारको बैठकले ऊर्जा सचिव दिनेशकुमार घिमिरेलाई कार्यदलको सदस्यसचिव तोकेको छ ।
समितिलाई स्वतन्त्र ऊर्जा उत्पादक तथा निजी क्षेत्रको समेत सुझाव समेटेर आगामी कात्तिक मसान्तभित्र नीतिको प्रस्तावित मस्यौदा मूल समितिमा पेश गर्ने कार्यादेश दिइएको छ ।
हाल अर्थ मन्त्रालय मन्त्रीविहीन रहेका कारण बाँकी तीन सदस्यको बैठक बसेको थियो ।
प्रतिक्रिया दिनुहोस्