
रामेछाप, असोज १८ । जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि कार्यालय बन्द गरिएको छ ।
नगरपालिकामा कार्यरत दुई, नेपाल विद्युत् प्राधिकरणका एक, राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी, दुई व्यवसायी, तामाकोशी बोर्डिङ्ग स्कूलका एक र प्राथमिक स्वास्थ्य केन्द्रका एकसहित एकैदिन १७ जनामा कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको हो ।
केही दिनयता मन्थली बजारमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि नगरपालिकामा कोरोना सङ्क्रमण उच्च बन्दै गएको छ ।
मन्थली बजार क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या बढे पनि दिनप्रतिदिन भीड बढने क्रम घटेको छैन ।
नागरिकले मास्क प्रयोग र सामाजिक दूरी कायम नगर्नु सङ्क्रमण बढ्नाको मुख्य कारण छन् ।
नगरपालिकाले यही असोज २८देखि कात्तिक २ गतेसम्म कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको नगर प्रमुख रमेशकुमार बस्नेतले बताउनुभयो ।
नगरपालिकाबाट प्रवाह हुने स्वास्थ्य, विपद् र फोहोर व्यवस्थापन जस्ता अत्यावश्यक सेवा भने चल्ने छ ।
स्वास्थ्य कार्यालय रामेछापका अनुसार हालसम्म जिल्लाबाटै स्वाब सङ्कलन गरिएका सङ्क्रमित हुनेको सङ्ख्या १३४ पुगेको छ ।
तीमध्ये ६७ जना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् । यस्तै रामेछाप स्थायी घर भई काठमाडौंँलगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ३३ र पुरुष ८७ गरी १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लामा हालसम्म दुईहजार २४ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।
कोरोना भाइरसबाट आउन सक्ने जोखिमलाई ध्यानमा राखी जिल्लामा अहिलेसम्म १०८ शय्याको आइसोलेशन कक्ष र ४९० शय्याको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्