
काठमाडौं, असोज २८ । नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले बुधबार एक विशेष बुलेटिन निकालेर यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशबाट असोज २५ (अक्टोबर–१०) मा नै बाहिरिएको (बहिर्गमन) भइसकेको भएपनि बाँकी भू–भागबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जनाएको छ ।
नेपालको केही भू–भागमा बाँकी भएको मनसुनी प्रणाली कमजोर अवस्थामा रहेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् राजु प्रधानाङगले बताउनुभयो ।
नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद्को भनाइ छ ।
गतवर्ष पनि मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो । यस वर्ष अझै केही दिन ढिलो हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको बताइएको छ ।
हाल प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहेको छ ।
राति प्रदेश नं १ वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना रहनुका साथै प्रदेश नं १ वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हलका वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव शून्य र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै बुधबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री र सबैभन्दा धेरै वीरेन्द्रनगरको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्