काठमाडौं, असोज २८ । मिडिया एलाईन्स नेपाल, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र नेपाल विज्ञापन संघ आनले ब्लीन फिडको कानूनी व्यवस्था कार्यान्वयनसम्बन्धमा सरकारले निकालेको वक्तव्यको स्वागत गरेका छन् ।
बुधबार तीन संस्थाले संयुक्त वक्तव्य निकाली भनेका छन्, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आज मिति २०७७/६/२८ गते प्रकाशित प्रेस विज्ञप्तीको हामी स्वागत गर्दछौ । विज्ञापन (नियमन गर्ने) ऐन २०७६ मै डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजनहरु २०७७ साल कार्तिक ७ गते (एक वर्ष) भित्र विज्ञापनरहित हुनुपर्ने प्रावधान रहेको र कुनैपनि वहानामा ऐन कार्यान्वयनमा ढिलाई गर्न नहुने हाम्रो मत पुनः जाहेर गर्न चाहन्छौं ।’
विज्ञापन ऐन राष्ट्र, राष्ट्रियता र संस्कृतिको जगेर्नाका साथै नेपाली उद्योग व्यवसायलाई प्रवद्र्धन गर्न महत्वपूर्ण कोशेढुंगा हुने भन्दै उनीहरुले भनेका छन्, ‘हामीले मिति २०७७÷६÷१८ मा जारी संयुक्त वक्तव्यमा उल्लेख भएको विज्ञापन ऐन राष्ट्र, राष्ट्रियता र सँस्कृतिको जगेर्नाका साथै नेपाली उद्योग व्यवसायलाई प्रवर्द्धन गर्न महत्वपूर्ण कोशेढुंगा हुने भएकोले तत्काल प्रभावकारी कार्यान्वयन गर्न पुनः माग गर्दछौं ।’
तीन संस्थाले विज्ञापन बोर्ड गठनमा जोड दिँदै लेखेका छन्, ‘ऐनको कार्यान्वयनका लागि विज्ञापन बोर्ड गठन अत्यावश्यक भएकाले व्यवसायीक व्यक्तिहरुको संलग्नतामा विज्ञापन बोर्डको गठन गर्न ढिलाइ नगर्न माग गर्दछौ ।’
उनीरुले नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले उठाएका मागको तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्