१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दशैँका लागि कात्तिक ३ गतेबाट खसीबोका बिक्री सुरु


0
Shares

काठमाडौं, असोज ३० । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि आगामी कात्तिक ३ गतेदेखि काठमाडौं उपत्यकामा खसीबोका विक्री शुरु गर्ने जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट दशैंका लागि खसीबोका बिक्री गर्ने जनाएको हो ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ ।

तर यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङग्रा ल्याउन नसकिएको कम्पनीले जनाएको छ ।

कम्पनीले दुई हजार खसी बोका र च्याङग्रा बिक्री गर्ने योजना रहे पनि आयातमा कठिनाई हुँदा केही संख्यामा खसी र बोका मात्रै विक्रीमा राखिने कम्पनीका बागमती प्रदेश कार्यालयका प्रमुख पवित्र गौतमले बताउनुभयो ।

कम्पनीले यसअघि दशैंमा १ हजार खसी बोका र १ हजार च्याङग्रा विक्री गर्ने बताएको थियो ।

तर कोराना भाइरसको संक्रमणले गर्दा बजारमा उपोभोक्ताको क्रयशक्ति घटेको अनुमान गरिएकाले यसवर्ष कम आपूर्ति गर्न लागिएको गौतमले बताउनुभयो ।

यस वर्ष कम्पनीले खरिद गर्दा नै खसी बोकाको मूल्य गत वर्ष भन्दा प्रतिकेजी ४० रुपैयाँ बढी परेकाले अघिल्लो वर्ष भन्दा केही महंगो हुने कम्पनीले जनाएको छ ।

दशैंका बेला काठमाडौं उपत्यकामा करिब ५० हजार खसी, बोका र च्याङ्ग्रा खपत हुने अनुमान छ ।