
काठमाडौं, असोज ३० । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आए पनि पाँचलाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गर्नुभएको छ ।
४० औं विश्व खाद्य दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिकटन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताउनुभएको हो ।
उहाँले तत्काल ५ लाख मेट्रिकटन मल ल्याउन भगवान शिव वा ब्रम्हा आएपनि नसक्ने टिप्पणी गर्नुभयो ।
कोलकाताको पोष्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालले बताउनुभयो ।
मन्त्री भुसालले अहिलेकै तौर–तरिकाले नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको उल्लेख गर्नुभयो ।
कृषि व्यवस्थाको परिवर्तका बारेमा कम अलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको उहाँको भनाइ थियो ।
प्राविधिकहरुले प्रविधिभन्दा माथि उठेर काम गर्न सकेमात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव भएको मन्त्री भुसालले बताउनुभयो ।
कार्यक्रममा लकडाउन तथा निषेधाज्ञाको समयमा विभिन्न स्थानमा निःशुल्क खाना खुवाउने व्यक्ति तथा समूहहरुलाई मन्त्री भुसालले सम्मान गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्