१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहिलोपल्ट भर्चुअल माध्यमबाट कार्यक्रम गरि प्रदान गरियो यस वर्षको मदन पुरस्कार र जगदम्बाश्री सम्मान


0
Shares

madan puraskar jagadamba shree samman virtual program

काठमाडौं, कात्तिक २ । कोरोना भाइरसको संन्त्रासका कारण पहिलो पटक मदन पुरस्कार भर्चुअल माध्यमबाट सम्पन्न गरिएको छ ।

मदन पुरस्कार गुठीले आयोजना गरेको मदन पुरस्कार तथा जगदम्बाश्री सम्मान अर्पण समारोह अनलाइनमार्फत् प्रत्यक्ष प्रशारण गरी सम्पन्न गरिएको हो ।

यस वर्षको मदन पुरस्कार महारानी उपन्यासका लागि उपन्यासकार चन्द्रप्रकाश बानियाँलाई प्रदान गरियो ।

यसैगरी यस वर्षको जगदम्बाश्री सम्मानबाट भने वरिष्ठ संगीतकार शान्ति ठटाललाई सम्मानित गरियो ।

भौतिक रुपमा उपस्थित हुन नसकेका स्रष्टाहरुले अनलाइनमार्फत् नै आफ्ना मन्तव्यहरु राख्नुभएको थियो ।

कार्यक्रममा भारत नैनीतालबाट इतिहासबार शेखर पाठकले महाकाली नदी वारिपारीको सीमाको इतिहासबारे प्रवचन दिनुभएको थियो ।

जगदम्बाश्री सम्मानबाट सम्मानित वरिष्ठ संगीतकार शान्ति ठटालले भने दार्जिलिङबाट आफ्नो मन्तव्य दिनुभएको थियो ।

महारानी उपन्यासमार्फत २०७६ सालको मदन पुरस्कारबाट पुरस्कृत लेखक चन्द्रप्रकाश बानियाँले पोखराबाट आफ्नो मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा संगीतकार ठटालले संगीतको कुनै सीमा नहुने भन्दै नेपाली संगीतको सेवामा जीवन अर्पण गर्न पाउँदा गौरवान्वित भएको बताउनुभयो ।

यसैगरी, मदन पुरस्कार विजेता उपन्यासकार बानियाँले इतिहासको एउटा घटनालाई लिएर आफूले लेखेको उपन्यास पुरस्कृत होला भनेर कल्पनै गरेको थिइँन भन्नुभयो ।

प्राविधिक संयोजन गुठीको कार्यालय पाटनढोकाबाट गरिएको कार्यक्रममा आयोजकका तर्फबाट मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले आभार व्यक्त गर्नुभएको थियो ।

मदन पुरस्कार गुठीले २०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बाश्री सम्मान प्रदान गर्दै आएको छ ।

नेपाली साहित्यकाशमा मदन पुरस्कारलाई निकै महत्वका साथ लिने गरिएको छ ।