
काठमाडौं, कात्तिक २ । पारिवारिक कलहमा फसेको प्रतिष्ठित व्यापारिक घराना ज्योति समूहले आफ्नो नाममा रहेको हिमालयन बैंकको सम्पूर्ण शेयर बेचेको छ ।
ज्योति समूहअन्तर्गत स्याकार कम्पनीको शेयर पूर्ण रुपमा बेचिएको हो । स्याकारले बेचेको हिमालयन बैंकको संस्थापक शेयर भने कर्मचारी सञ्चय कोष, प्रचण्डमान श्रेष्ठ र इलु शर्माले खरिद गरेका हुन् ।
४३ नम्बर ब्रोकरले बेचेर ४० नम्बर ब्रोकरमार्फत किनिएको बैंकको ८ लाख १५ हजार १७२ कित्ता शेयरको ९५ प्रतिशत कर्मचारी सञ्चय कोषले उठाएको हो । यो किनबेचसँगै बैंकमा स्याकारको शेयर शून्यमा झरेको छ ।
गत माघ ७ मा पनि यिनै ब्रोकर कार्यालयबाट दुई पटक शेयर किनबेच भएको थियो । शुरुमा ४३ नम्बर ब्रोकरले ४० नम्बर ब्रोकरलाई ४ लाख २१ हजार ७५३ कित्ता तथा पछि ४० नम्बर ब्रोकरले ४३ नम्बरलाई ४ लाख २१ हजार ७५४ कित्ता शेयर बिक्री गरेको थियो ।
त्यतिबेला प्रतिकित्ता २९० रूपैयाँका दरमा किनबेच गरिए पनि यस पटक भने १० रुपैयाँ बढेर ३०० रुपैयाँ प्रतिकित्तामा किनबेच गरिएको हो । २४ करोड ४५ लाख ५१ हजार ६०० रुपैयाँ बराबरको शेयर बिक्री भएको देखिएको छ ।
प्रतिष्ठित व्यवसायी मणिहर्ष ज्योति कंसाकारले १९४० मा स्थापना गरेको ज्योति समूहका दाजुभाइ पद्म ज्योति र डा. रूप ज्योतिबीचको विवाद शुरु भएपछि यो शेयर बेचिएको बताइएको छ ।
बिक्री गरिएको ९५ प्रतिशत हाराहारी शेयर सञ्चय कोषले उठाउँदा बाँकी शर्मा र श्रेष्ठले खरिद गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्