१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोना रोकथाममा सरकार असफल भएको कांग्रेसको ठहर


0
Shares

अक्कल कुँवर (ईमेज)
काठमाडौं, कात्तिक २ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोराेंना महामारी नियन्त्रणमा सरकार असफल भएको ठहर गरेको छ ।

कांग्रेसले गठन गरेको कोभिड–१९ सम्बन्धी अनुगमन समितिले शुक्रबार पार्टी सभापति शेरवहादुर देउवालाई बुझाएको प्रतिवेदनमा सरकारको असंवेदनशीलताको कारण संक्रमण समुदायस्तरमा फैलिएर महामारीको रुप लिएको उल्लेख छ ।

महामारी नियन्त्रण तथा रोकथाममा सरकार गैरजिम्मेवार बनेको भन्दै कांग्रेसले संसद र सडक दुवै मोर्चाबाट सरकारबिरुद्ध आन्दोलन गर्ने जनाएको छ ।

सहमहामन्त्री डा.प्रकाशशरण महत संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा सरकार पूर्णत असफल भएको निष्कर्ष निकालेको छ ।

१० बुँदे निष्कर्षसहित पार्टी सभापति शेरवहादुर देउवालाई बुझाएको प्रतिवेदनमा अत्यावश्यक स्वास्थ्य सामाग्री र पूर्वाधारको न्यूनतम व्यवस्था गर्न समेत सरकार असफल भएको उल्लेख छ ।

चार महिना लामो लकडाउन र थप एक महिना लामो निषेधाज्ञालाई सरकारले कोरोना संक्रमणको नियन्त्रण, स्वास्थ्य पूर्वाधार निर्माण, अत्यावश्यक उपकरण खरिद, क्वारेन्टाइन र आइसोलेनसको समुचित व्यवस्था गर्ने मनसाय नै नराखेको समितिको ठहर छ ।

महामारी नियन्त्रणका लागि कार्ययोजना र समग्र क्षेत्रमा परेको असर सम्बोधनका लागि सरकारले योजना ल्याउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद प्रक्रियाको सुरुदेखि नै चरम भ्रष्ट्राचार भए पनि नियन्त्रण र आवश्यक कारवाही गर्न चासो नदेखाएको, अत्यावश्यक औषधिको खुलेयाम कालोबजारी हुँदा पनि नियन्त्रण नगरेको प्रतिवेदनमा उल्लेख छ ।

सरकार जिम्मेवार नबन्दा संक्रमण समुदायस्तरमा फैलिएको र नागरिकको स्वास्थ्य, सुरक्षा, दैनिक जीवनमा परेको आर्थिक तथा सामाजिक समस्याप्रति संवेदनशील नभएको समितिको आरोप छ ।

सरकारको गैरजिम्मेदारीविरुद्ध कांग्रेसले दशैँलगत्तै सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महामारी नियन्त्रणमा प्रादेशिक र पालिका सरकारहरुलाई जिम्मेवारी, अधिकार, स्रोत र सीप दिने विषयमा राज्यले अबलम्बन गरेको संघीय प्रणालीको भावना र मर्मअनुरुप संघीय सरकारले सुरुदखि नै काम नगरेकाले अहिलेको भयावह अवस्था आएको, स्वास्थ्य तथा सुरक्षा प्रोटोकल कार्यान्वयन र महामारी नियन्त्रणको लागि निजी क्षेत्रका पूर्वाधार र जनशक्ति परिचालन गर्न पनि सरकार असफल भएको प्रतिवेदनमा उल्लेख छ ।

समितिले संक्रमणको प्रभावले ल्याएको बेरोजगारी र जनजीविकामा परेको अप्ठ्यारो न्यूनिकरणका लागि तत्काल आवश्यक कदम चाल्न पनि सरकारसंग आग्रह गरेको छ ।

अनुगमन समितिले विभिन्न क्षेत्रका व्यक्ति, विज्ञ र कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा खटिएका व्यक्तिहरुसंग समन्वय गरी अनुगमन गरेको थियो ।

भिडियो हेर्नुहोस्