१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेलम्चीको पानी माघमा


0
Shares

काठमाडौं, कात्तिक २ । वि.स. २०४८ पछि हरेक निर्वाचनमा सबै दलको साझा एजेन्डाको रुपमा प्रस्तुत मेलम्चीको खानेपानी काठमाडौं ल्याउने योजनाको अवधारण सुरु भएकै तीन दशक बित्यो ।

२ वर्षदेखि मेलम्चीको पानी अब आईहाल्ने भन्दै खानेपानी मन्त्री बीना मगरले पटक–पटक घोषणा पनि गर्नुभयो ।

फेरि पनि मेलम्चीको पानी अझै कहिले काठमाडौं आईपुग्छ भन्ने टुङ्गोे छैन ।

खानेपानी मन्त्रीको दाबी पनि झुटकै निरन्तरता जस्तै देखिएको छ ।

गत असारमा सुरुङ मार्गमार्फत पानी पथान्तरण पनि भयो । परीक्षणका क्रममा सुरुङको गेट फुटेपछि काम पछि धकेलियो ।

खानेपानी मन्त्रालयले अनुगमन गरेपछि डिजाईन र गुणस्तरमै प्रश्न उठ्यो ।

अहिले आयोजनाले बाहिरैबाट खोल्न र बन्द गर्न मिल्ने गरि गेट निर्माणको काम गरिरहेको छ ।

त्यसको परीक्षणका लागि अझै केही महिना लाग्ने मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो ।

ठेकेदार फेरिनु र निर्माण लक्ष्य परिवर्तन हुनु मेलम्चिको नियति बनिसक्यो ।

आयोजनाको काम ९७ प्रतिशत पूरा भइ अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेको गतिले काम गर्दा मंसिर दोस्रो सातासम्म परीक्षणको काम हुने र माघको दोस्रो हप्तामा स्थायी रुपमै पानी पथान्तरण गरिने उपकार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

निर्माण समय लम्बिदा आयोजनाको लागत बढिरहेको छ । आयोजनाले कुल लागत ३४ अर्ब पुग्ने अनुमान गरिएको छ ।

आयोजनामा हालसम्म २९ अर्ब खर्च भईसकेको छ ।

राष्ट्रिय गौरवको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाले नेपालमा विकास निर्माणका काम कसरी समयमै पूरा हुँदैन भन्ने प्रस्टाउँछ ।

यसका लागि सरकारले विगतका गल्तीबाट पाठ सिक्न जरुरी छ ।