
काठमाडौं, कात्तिक ३ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर९फेस सिल० को प्रयोग अनिवार्य गरेको छ ।
विभागले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि छोटो, मध्यम र लामो गरी सबै दूरीका सवारी साधनमा यस्तो व्यवस्था गरिएको जनाएको छ ।
सार्वजनिक सवारी साधनमा यात्रा गर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिका तथा मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ ।
विभागले सवारीसाधनमा साविक भाडादर कायम गरिएको पनि बताएको छ ।
मन्त्रिपरिषद्को गत २६ गतेको निर्णयानुसार सिट क्षमताअनुसार यात्रु राख्न पाउने व्यवस्थाका कारण सवारीसाधनले बढी भाडा लिन नपाउने भएका छन् ।
सरकारले गत महिना सिट क्षमताभन्दा आधा यात्रु राख्नुपर्ने र तोकिएकोभन्दा ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको विभागका सूचना अधिकारी डा लोकनाथ भुसालले बताउनुभयो ।
गत असोज २६ गते बसेको मन्त्रिपरिषद्को निर्णयका आधारमा सवारीसाधनले सिट क्षमताअनुसार यात्रु राख्न पाउने हुँदा बढी भाडा लिन नपाउने भएका हुन् ।
सरकारले यसअघि नै चालक सहचालकले सवारीसाधनमा मास्क, पञ्जाको प्रयोग अनिवार्यरुपमा गर्ने व्यवस्था गरेको थियो ।
सरकारले सवारीसाधनको ढोकामा र भित्र स्यानिटाइजर राख्नुपर्ने व्यवस्था गरेको छ ।
अहिले स्वास्थ्य सावधानी अपनाएर सवारीसाधन सञ्चालन गर्नुको विकल्प नभएको सूचना अधिकारी डा. भुसालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मापदण्डको पालना भए÷नभएको हामीले पनि अनुगमन गरिरहेका छौँ ।” रासस
प्रतिक्रिया दिनुहोस्