
ललितपुर, कात्तिक ४ । ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन भएको छ ।
ती नगर प्रहरी मंगलबारदेखि टाई, पिक्याप, बेल्टसहित खाकी रङको कोट अनि प्यान्टस लगाएर कार्यक्षेत्रमा सहभागी भएका छन् ।
महानगरपालिकाले सोमबार ती प्रहरीलाई पोशाक हस्तान्तरण गरेको थियो ।
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले सो पोशाक लगाएर नगर प्रहरी स्मार्ट भएसँगै नगरलाई पनि स्मार्ट बनाइने बताउनुभयो ।
हाल महानगरपालिकामा ७२ नगर प्रहरी कार्यरत छन् ।
ती सबैलाई पोशाक वितरण गरिएको छ ।
यसैगरी महानगरपालिकालाई स्मार्ट शहर बनाउन स्मार्ट सडक बत्ती र खुला स्थानमा उद्यान निर्माणको काम अघि बढाइएको महर्जनले जानकारी दिनुभयो ।
नगर प्रहरी प्रमुख सीताराम हाछेथुले विगतको पोशाक भद्दा भएकाले नयाँ ल्याइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो पोशाकमा हामी स्मार्ट देखिने छौं ।
हामी नगरवासीको सहयोगी साथी भएकाले अबदेखि लाठी बोक्ने छैनौँ ।”
नगर प्रहरीलाई स्मार्ट बनाउन क्यामरा पनि दिइएको हाछेथुले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्